काठमाडौं :
चर्चित र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि खोलिएको छ ।
डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘नेपहपको श्रीपेच -२’ मा सहभागी हुनका लागि दामी म्युजिक एप र www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन्। साथै नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, अफिसियल WHATSAPP NUMBER 9707259961 र [email protected] मा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्य जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ। डिजिटल अडिसनको लागि बिट Shreepech Studio युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ ।
‘नेपहपको श्रीपेच २’को विजेताले रु १० लाख नगत, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपबिजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।
‘नेपहपको श्रीपेच’को पहिलो संस्करण लगभग २ वर्ष पहिले सम्पन्न भएको थियो । पहिलो सिजनको विजेताका रूपमा भाईबर साइमनले बाजी मारेका थिए भने सह-विजेताका रूपमा जेनिश क्षेत्रीले आफ्नो नाम लेखाएर दुबई, अस्ट्रेलिया साथै नेपालको विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिई सकेका छन् ।
दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच -२’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् भने निर्देशकमा निकेश खड्का रहने तय भएको छ। अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ “दोङ” रहनेछन्। काठमान्डौका मेयर समेत रहेका बालेन भने केही एपिसोडमा सहभागी हुने कार्यक्रम निर्माता सुदिप पोख्रेलले बताए।