म्याग्दी : बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघेसंक्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा ठुलो संख्यामा रहेको मगर समुदायले माघेसंक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन् । छन्त्याल समुदायले माघेसंक्रान्तिलाई सबैभन्दा ठुलो पर्वका रूपमा मनाउने गर्दछन् ।
साउनेसंक्रान्तिलाई हिउँद र माघेसंक्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको जिल्लास्थित मगर संघका सचिव खम थापामगरले बताए । ‘माघेसंक्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ,’ उनले भने, ‘प्रकृतिका पुजारी मगर समुदायले साउनेसंक्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन् ।’
यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदान–प्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउनेसंक्रान्तिमा भेला भएर नाचगान गर्ने, पुर्ख्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको संघका सचिव थापामगरले बताए । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफूल लिएर माघेसंक्रान्तिमा माइतीघर जान्छन् ।

यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किने गर्दछन् । अस्ट्रेलियाबाट माघेसंक्रान्ति मनाउन परिवारसहित जन्मथलो मंगला गाउँपालिका– १ तुसारेपानी आएका मुक्ति रोकाले चाडपर्वले आफन्तजन र साथीभाइसँग भेटघाट हुने अवसर जुराएको बताए ।
माघेसंक्रान्ति पर्वको अवसरमा तुसारेपानीमा खेलकुद तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखि माघेसंक्रान्तिको अवसरमा मेला लाग्ने प्रचलन रहेको स्थानीय बताउँछन् । जिल्ला उद्योग वाणिज्य संघका मानार्थ सदस्य नैनकुमार श्रेष्ठका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घिउ, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघेसंक्रान्ति मेलामा आउने गर्दथे ।
बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुन्य प्राप्त हुने धार्मिक विश्वास छ । ‘त्यसवेला अहिलेको जस्तो गाउँगाउँमा बजार थिएन । किनमेलका लागि मेला कुर्नुपर्दथ्यो । बेनीमा माघेसंक्रान्तिको मेला किनमेलको माध्यम थियो,’ ८० वर्षीय श्रेष्ठले भने, ‘युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गर्दथे ।’
समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरूप पनि फेरिएको श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धनमा युवाको सक्रियता बढेको उनले बताए । हरेक तीन–तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गर्न थालिएको उद्योग वाणिज्य संघले जनाएको छ । संघअन्तर्गतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघेसंक्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष आइतबारदेखि बेनीमा आठौँ म्याग्दी महोत्सव तथा माघेसंक्रान्ति मेला सुरु भएको हो ।
परम्परागत माघेसंक्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव यही माघ ८ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।