सुचना, समाचार र मनोरन्जन

चितवनमा रातो च्याउको परीक्षण उत्पादन

चितवन,

व्यावसायिक किट विकास फार्म भण्डाराले रातो च्याउ (ग्यानोडर्मा) को परीक्षण उत्पादन शुरू गरेको छ । बीउ राखेको ६० दिनदेखि उत्पादन दिन सक्ने यो च्याउ फार्मको च्याउ खेती प्रविधि प्रदर्शनी कार्यक्रम अन्तर्गत उत्पादन गर्न शुरू भएको हो ।

कार्यालयका सूचना अधिकारी जीवन सापकोटाले उत्पादन लिन शुरू गरेको जानकारी दिए । उनका अनुसार फार्मले अहिले ६ सय वटा पोकामा यो च्याउको परीक्षण उत्पादन गरेको छ ।

काठमाण्डौबाट ल्याइएको बीउलाई काठको धुलो, चोक्कर, चुन र जिप्सनको मिश्रणगरी बनाइएको पोकामा राखेर परीक्षण गरिएको हो । उहाँले भन्नुभयो, ‘अहिले हामीले दोस्रो चरणको उत्पादन लिई सकेका छौँ । अब तेस्रो चरणको उत्पादन लिन तयारी भएको छ ।’

अहिले काठमाण्डौका केही ठाउँमा यो च्याउ उत्पादन हुने गरेको छ । यस च्याउलाई तापक्रम र आद्रता मिलाएर सुकाएर धुलो बनाएर प्रयोग गर्ने गरेको फार्मकी प्रमुख सुरुचि त्रिपाठीले जानकारी दिए ।

नसर्ने रोगका बिरामीहरूले यो च्याउ नियमित प्रयोग गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । उनले भने, ‘यो च्याउमा औषधिजन्य गुणहरू हुने गर्दछ ।’

यस च्याउको प्रयोगले उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने, मधुमेह नियन्त्रणमा सहयोग पुर्‍याउने, क्यान्सर प्रतिरोधी गुण भएको, शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, डिप्रेसन एवम् अनिदोपना हटाउन सहयोग गर्ने गुण भएको त्रिपाठीले बताए । यस कारण यसलाई नसर्ने रोग लागेकाहरूले बिहान दिउँसो चिया कफीमा प्रयोग गरेर खाने गरेका उनले जानकारी दिए ।

यसलाई दुध खुवाँउदै गरेको आमा, ५ वर्षमुनिका बच्चा र शल्यक्रिया गरेर बसेका बिरामीहरूलाई प्रयोग गर्न दिन नहुने भएकाले यसको महत्त्व र उपयोगिता अध्ययनका लागि पहिलो पटक परीक्षण भएको हो । यो च्याउ अहिले नेपालमा बिदेशबाट आउने गरेको फार्मकी प्रमुख त्रिपाठीले बताए ।

Leave A Reply

Your email address will not be published.