सुचना, समाचार र मनोरन्जन
Sarangi

गीतकार संघको आयोजनामा अधिकारीको तीन कृति सार्वजनिक

काठमाडौं :

गीतकार पं.ज्यो.डा.रुद्रनाथ अधिकारीको तीन कृति सार्वजनिक भएको छ। गीतकार संघ नेपालको आयोजनामा पूर्व अर्थमन्त्री तथा कवि गीतकार एस.पी.कोइरालाको प्रमुख आतिथ्यतामा डा.अधिकारीको तीनवटा गीतको श्रव्य दृश्य सामग्री सार्वजनिक गरिएको हो ।

उक्त सार्वजनिक कार्यक्रममा डा.अधिकारीको तीन वटा कृति बुझ मायालु, यसपालिको तिजमा, यस्तै रहेछ भाग्य गीतको भिडियो समेत प्रस्तुत गरियो। गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा गीतकार संघ नेपालका सल्लाहकार एवं पूर्व अध्यक्ष चुडामणि देवकोटा, अमल फाउन्डेसन बंगलादेशकी निर्देशक इस्रात करिम, नारायण गोपाल सङ्गीत कोष एवं तारादेवी स्मृति प्रतिष्ठानका अध्यक्ष दिपक केसी, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, संगीत रोयल्टी संकलन समाजका महासचिव बद्री पाण्डे, लोकप्रिय गीतकार आनन्द अधिकारी, म्यूजिक भिडियोका निर्देशक कृष्णदेव रुपाखेती लगायतको उपस्थितिमा उक्त श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको थियो ।

भिडियोका निर्देशक कृष्णदेव रुपाखेतीले गीतकार पं.ज्यो.डा. रुद्रनाथ अधिकारीको बारेमा प्रष्ट पारेका थिए । रुपाखेतीले ज्योतिष एवं कर्मकाण्डीय कर्ममा प्रख्यात ज्योतिष डा.रुद्रनाथ अधिकारीको लेखन शैलीमा पनि अब्बल क्षमता भएको बताउँदै वेदवेदाङ्गदेखि साहित्य क्षेत्रमा पनि लोकप्रियता मिलोस् भन्ने शुभकामना दिएका थिए ।

त्यस्तै गीतकार डा.अधिकारीको गीतहरुमा समीक्षा गर्दै लोकप्रिय गीतकार आनन्द अधिकारीले गीति लेखनमा पनि ज्योतिशास्त्रलाई समावेश गरिएको हुँदा नयाँ गीतकारजस्तो नदेखिएको बताए । उनले तिज, हाक्पारे, बालन, धान नाच, टप्पा जस्ता संस्कृतिभित्र राष्ट्र रहेको हुँदा जुन देशमा हाम्रो मौलिक कला संस्कृति प्रस्तुत हुन्छ त्यहाँ राष्ट्रको प्रतिनिधित्व हुन्छ भन्दै गीतकार डा.रुद्रनाथ अधिकारीका गीतहरुमाथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा गीतकार संघ नेपालका सल्लाहकार एवं पूर्व अध्यक्ष चुडामणि देवकोटा, अमल फाउन्डेसन बंगलादेशकी निर्देशक इस्रात करिम, नारायण गोपाल सङ्गीत कोष एवं तारादेवी स्मृति प्रतिष्ठानका अध्यक्ष दिपक केसीले गीतकार पं.ज्यो.डा.रुद्रनाथ अधिकारी गीतसंगीत क्षेत्रमा प्रवेश गरेर अमरताको बाटो रोजेको भन्दै तीनवटा गीतहरुले बजारमा चर्चा परिचर्चा पाउने विश्वासका साथ शुभकामना दिएका थिए ।

त्यस्तै गीतकार पं. ज्यो. डा. रुद्रनाथ अधिकारीले उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै आफूले गरेको व्यक्तिको भविष्यवाणीसँगै देशको भविष्यवाणी पनि मिलिरहेको बताए । उनले ज्योतिष शास्त्र वैदिक परम्परासँगै संगीतको पनि जन्म भएको बताउँदै भगवान शिवबाट नै संगीतको पहिलो पादुर्भाव भएको उल्लेख गरे । भगवानबाट सुरु भएको ॐ शब्दबाट संगीतको सुरुवात भएको उल्लेख गर्दै ज्योतिष शास्त्रलाई गीतमार्फत प्रस्तुत गर्न जमर्को गरेको बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा प्रतिष्ठित गीतकार, कवि एस.पी. कोइरालाले पं.ज्यो.डा. रुद्रनाथ अधिकारीको गीति लेखन पनि ज्योतिष विज्ञानमा प्राप्त गरेको लोकप्रियता जस्तै बनोस् भने शुभकामना दिएका थिए । उनले डा.अधिकारीले गीति क्षेत्रमा रुचि राखेर लगानी गर्नुभएकोमा खुशी प्रकट गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले पं.ज्यो.डा. रुद्रनाथ अधिकारीको सिर्जनालाई सबैका सामु ल्याउने जिम्मा पाएकोमा गीतकार अधिकारीप्रति हार्दिक आभार प्रकट गरेका थिए । उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै गीतकार संघ नेपाल सदैव गीतकारहरुको हकअधिकारका लागि लड्दै आएको र गीतकारहरुको श्रीबृद्धिमा लाग्ने बताए ।

कार्यक्रमको संचालन संचारकर्मी सुमन पण्डितले गरेका थिए भने गीतकार संघ नेपालको कार्यसमिति सदस्य देवी पराजुलीले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.