सुचना, समाचार र मनोरन्जन

पोखरामा असारमा मात्र १९ दुर्घटना, लापरबाही नै मुख्य जोखिम

पोखरा,

गण्डकी प्रदेशमा असार महिनाभर भएका सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार महिनाभर भएका १९ दुर्घटनामध्ये १३ वटा दुर्घटना चालककै गल्तीका कारण भएका हुन्।

ट्राफिक प्रहरीका सूचना अधिकारी थानेश्वर चपाइका अनुसार चालकको लापरबाहीमध्ये १० वटा दुर्घटना तीव्र गतिका कारण र ३ वटा मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी चलाउँदा भएका हुन्। बाँकी दुर्घटनामध्ये २ वटा सवारी साधनको प्राविधिक खराबी, २ वटा यात्रुको असावधानी, १ वटा सडकको अवस्था र १ वटा प्रतिकूल मौसमका कारण भएको उनले बताए।

असार महिनामा भएका १९ सडक दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् भने १८ जना घाइते भएका छन्। मृत्यु हुनेमा १६ पुरुष, २ महिला, १ बालक र २ बालिका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र १४ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि १९ जनाको उद्धार गरिएको पनि कार्यालयले जनाएको छ।

यता, ट्राफिक नियम उल्लंघन गर्ने सवारीमाथिको कारबाही पनि उच्च देखिएको छ। असार महिनामा मात्रै ट्राफिक प्रहरीले १ लाख ६० हजार ७ सय ९४ वटा सवारी साधनलाई कारबाही गर्दै १४ करोड ३७ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

दुर्घटना न्यूनीकरणका लागि तीव्र गति नियन्त्रण, मापसे परीक्षण, नियमित ट्राफिक निगरानी र जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाइने ट्राफिक प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.