काठमाडौं,
सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस सप्ताहव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको बिहीबार बसेको पहिलो बैठकले सप्ताहव्यापी कार्यक्रममार्फत दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले पर्वतारोहण, वातावरण संरक्षण, हिमाली संस्कृति प्रवर्द्धन तथा अन्तरराष्ट्रिय पर्यटन प्रवाह अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू तय गरेको छ । कार्यक्रममा हिमाली पदयात्रा, सांस्कृतिक प्रदर्शनी, सरसफाइ अभियान, अन्तरक्रिया गोष्ठी, फोटो प्रदर्शनी तथा विद्यार्थी लक्षित सचेतनामूलक गतिविधि समावेश गरिने बताइएको छ ।
बैठकले कीर्तिमानी सगरमाथा आरोहीहरूलाई सम्मान गर्न पर्यटन विभागका महानिर्देशक डा. नारायण रेग्मीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । साथै, दिवसको अन्तर्राष्ट्रिय प्रचार–प्रसारका लागि विदेशस्थित नेपाली राजदूतावास, महावाणिज्य दूतावास, पर्यटक प्रवर्द्धक र अन्य कूटनीतिक संयन्त्रमार्फत कार्यक्रम सञ्चालन गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।
समारोहलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न सङ्घसंस्था, विज्ञ तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा आवश्यक निर्णय गर्न कार्यान्वयन समितिलाई जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सगरमाथा दिवस हरेक वर्ष मे २९ तारिखमा मनाउने गरिन्छ, जुन दिन सन् १९५३ मा तेन्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
समितिमा विभिन्न सरकारी निकाय, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन अफ नेपाल, सगरमाथा आरोही सङ्घ, हिमालयन उद्धार सङ्घ, नेपाल ट्रेकिङ एजेन्सी सङ्घ, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयलगायत प्रतिनिधिहरू समावेश छन् । समितिमा १७ सदस्यीय संरचना रहेको छ ।