कास्की : सहारा क्लब अस्ट्रेलियाले सिड्नीमा १०औँ वार्षिकोत्सव मनाएको छ। नेपालस्थित सहारा क्लबको अस्ट्रेलिया शाखाले सिड्नीको टेम्पे पार्कमा वार्षिकोत्सव मनाएको हो।
समारोहमा क्लबका संस्थापक स्वर्गीय राजमान थकालीले क्लबमाथि गरेको योगदानको चर्चा गरिएको थियो।
सहारा क्लबलाई अस्ट्रेलिया भित्र्याएको १०औँ वर्ष पुगेको अवसरमा सहारा अस्ट्रेलियाको लोगो तथा आगामी सहारा कप फुटबलको मिति पनि सार्वजनिक गरिएको संस्थाका अध्यक्ष सिद्धार्थ पौडेलले जानकारी दिए।
उनका अनुसार यस वर्षको सहारा कप आउँदो १७ अगस्टदेखि १४ सेप्टेम्बरसम्म राइडलमेर पार्कमा आयोजना गरिनेछ। क्लबको नयाँ जर्सी र लोगो पनि सार्वजनिक गरिएको छ।
कार्यक्रममा एनआरएन न्यू साउथ वेल्सका सचिव कल्याण खड्का, संस्थाकी महासचिव जेशिका तामाङ, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्वअध्यक्ष नन्द गुरुङ, समदायका नेता हेउपती गुरुङ, एन्फा अस्ट्रेलियाका अध्यक्ष विजय राउतलगायतले शुभकामना व्यक्त गरेका थिए।