काठमाडौं :
राजकुमारको डेव्यु निर्देशकिय रहने फिल्म ‘फलानो ढिस्कानो’को मुख्य भुमिकामा साइग्रेस पोखरेल अनुबन्ध भएका छन्। निर्माण पक्षले मंगलबार फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो।
पोस्टरमा कथावाचकका रुपमा चर्चामा रहेका साइग्रेस पोखरेललाई निर्माण पक्षले यस फिल्मको मुख्य भुमिकामा लिएको हो। उनी बाहेक अन्य कलाकार तथा निर्माताको बारेमा निर्माण पक्षले केहि खुलाएको छैन। साइग्रेस बाइकको पछाडी बसेर कतै गइरहेको पोस्टर रिलिज गर्दै उनलाई अनुबन्ध गरेको जानकारी गरायो। जहाँ पोस्टर हेर्दैमा नाम जस्तै हास्य भुमिकामा उनी रहेको देख्न सकिन्छ। हँसिलो अनुहारमा उनी देखिएका छन्।
जय नेपाल हलमा भएको घोषणा कार्यक्रममा साइग्रेसले भने,‘मैले आ बाट आमा खेल्छु त्यसपछि खेल्दिनँ भन्ने थियो तर यो नशा रैछ। त्यसैले यो फिल्मको कथा मन परेको कारण यो फिल्ममा अनुबन्ध भएको हुँ।’
फिल्ममा हिरोइनको बारेमा भने निर्माण पक्षले जानकारी गराएन। को हिरोइन यस फिल्ममा रहने हो भन्ने बारेमा उनीहरुले केहि दिनपछि नै थप जानकारी दिने बताए। निर्माण टिमले विस्तारै अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिने जानकारी दिएको छ। द्रव्य प्रोडक्सनको व्यानरमा निर्माण हुने यस फिल्मको छायांकन दसैंपछि हुने छ।