काठमाडौं :
आगामी फागुन १४ गते महाशिवरात्रीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’ले प्रमोशनलाई व्यापाक बनाउन थालेको छ। यसका लागि लाजशरणम् टिम पोखरा पुगिसकेको छ। पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको फाइनल खेलमा लाज शरणम् टिमका तर्फबाट अर्जुन घिमिरे पाँडे, सागर लम्साल (बले),दुर्गेश थापा,कमलमणी नेपालका साथमा गायक अजुर्न भुसालले आफ्नो प्रस्तुती दिदै छन्।
उनीहरुको उपस्थितिमा दर्शकले भलिबलका साथै दर्शकले हास्य तथा गायनको माध्यमबाट रमाइलो गर्दैछन्। पोखरा पुगिसकेका फिल्मका मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे)ले फिल्मको प्रचारका साथै पोखरेलीलाई मनोरञ्जन दिलाउन पोखरा आइसकेको बताए।
‘फिल्मको प्रचारप्रसार त देशैभरिबाट गरिरहेका छाँै,’उनले परिचयसँगको कुराकानीमा भने,‘कलाकार र खेलको एकअर्काको परिपुरक जस्तै हो। त्यसैका लागि पोखरेली दर्शकलाई मनोरञ्जन दिलाउने हिसावले पनि टाइगरकप भलिबलमा उपस्थित हुन लागेका छौँ।’
नेपालीले पछिल्लो समय घर छाडेर परदेशिनु परेको पिडालाई फिल्मको कथावस्तु बनाइएको छ। कलाकार घिमिरेले फरक कथावस्तुमा आधारित यो फिल्मलाई माया र समर्थन दिन सबैलाई आग्रह समेत गरेका छन्।
हास्य टेलिश्रृंखला ‘सक्किगोनी’का अधिकांश कलाकारहरुको यसमा अभिनय रहेको छ। फिल्ममा मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, अर्पण थापा, रेणु योगी, माला लिम्बूसँगै ‘सक्किगो नि’ समूहबाट अर्जुन घिमिरे, सागर लम्साल, प्रियना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणि नेपालको पनि अभिनय छ । सुदीप बरालले खिचेका हुन्। यो फिल्म जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको हो भने फिल्मलाई नवीन श्रेष्ठले निर्माण गरेका हुन् । रामनरेश शाह र सिर्जना खड्का सहनिर्माताका रुपमा रहेका छन्।