सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरामा प्रचण्ड, विप्लव र माधव नेपाल एउटै स्टेजमा, समाजवादी मोर्चा मार्फत एकताको सन्देश प्रवाह

सन्तोष बस्याल ,पोखरा ।

पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विप्लव र माधव कुमार नेपाल एउटै स्टेजमा देखिएका छन् । शुक्रबार सभागृहमा आयोजना गरिएको समाजवादी मोर्चा नेपाल सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु पोखरा आएका हुन् । तीनै जना शीर्ष नेताहरुले समाजवादी मोर्चा मार्फत एकताको सन्देश प्रवाह गरिएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवेगमा आएर समाजवादी मोर्चा गठन नगरिएको बताए । समाजवाद र नयाँ क्रान्तिका लागि मोर्चा गठन भएको उनको भनाई छ ।

‘समाजवादी मोर्चा आवेगमा आएर गठन गरिएको होइन । अल्पकालिन सोच हाम्रो छैन । दीर्घकालिन योजना सहित अगाडि बढेका छौं । समाजवाद र नयाँ क्रान्तिको सुरुवात भएको छ ।’, उनले भने । एउटै कम्युनिष्ट पार्टी बनाउने लक्ष्यका साथ आफुहरु अगाडि बढेको उनले बताए । समाजवाद र क्रान्तिको पहिलो कदम थालिएको भनाई उनको छ । विभाजित नभई एकताका साथ फेरि अर्को लडाइमा हिड्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । आफु प्रधानमन्त्री भएपछि रेमिटान्समा २६.६ प्रतिशत र राजश्वमा २१.५ प्रतिशतले वृद्धि भएको दाबी उनको छ । उनले ४० देखि ५० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको जानकारी गराए । उनले गठन गरिएको समाजवादी मोर्चाले धनीलाई धनी हुनबाट र गरिबलाई अझ गरिब हुनबाट रोक्ने लक्ष्यका साथ अगाडि बढेको बताए ।

कार्यक्रमको एकसाथ उद्घाटन गर्दै प्रचण्ड, विप्लव र माधव नेपाल सहितका नेताहरु

उनले नेपाली समाजमा वेथिति सिर्जना हुनुमा भ्रष्टाचार प्रमुख समस्या भएको उल्लेख गरेका छन् । जसको अन्त्यका लागि आफु दिनरात लागि रहेको भनाई उनको छ । भुमाफियाहरुले सरकारी जग्गा हड्प्ने प्रक्रियाको अन्त्य गर्ने गरी सरकार लागि परेको उनले बताए । मिटरब्याजीका कारण गरिब समस्यामा परेकाले सरकारले गरिबहरुको पक्षमा नीति नै बनाइ मिटरब्याजीहरुलाई कारबाही गर्ने गरी अगाडि बढेको उनले उल्लेख गरे । प्रचण्डले नागरिकताको समस्याका कारण ८ लाख युवा नागरिकताविहिन भएकोमा उनीहरुको मागको सम्बोधन गरिएको जानकारी गराए । भारत भ्रमण केवल भ्रमणमा मात्र सिमित नरही नेपालको आर्थिक उन्नति सँग पनि गाँसिएको विषयलाई उनले उठान गरे ।

‘मेरो भारत भ्रमण केवल भ्रमणमा सिमित थिएन । दुई देश बीचको व्यापारिक सम्बन्धलाई प्रगाढ बनाई नेपालको आर्थिक स्तर उकास्ने गरी सम्झौता भएको छ । विद्युत व्यापारका लागि सकरात्मक पहल भएको छ ।’, उनले भने । उनले गण्डकी प्रदेशमा मुस्ताङको कोरला नाका र गोरखाको रुइला नाका खोल्ने गरी सम्झौता प्रक्रिया अगाडि बढेको उल्लेख गरे । छिट्टै नै चीनमा हुने भ्रमणमा आफुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका मुख्य शहरबाट सिधै विमान ल्याउने योजना सहित सहभागी हुने बताए ।

चीन र नेपालको कृषि साझेदारीलाई समेत अगाडि बढाउने लक्ष्य प्रचण्डको छ । उनले भ्रष्टचारमा संलग्न जो कोहिलाई कारबाही गरिने बताए । दोषीलाई कारबाही गर्ने र निर्दोष नफस्ने तवरले काम अगाडि बढीरहेको जानकारी उनले गराएका छन् ।

कार्यक्रममा उपस्थित हुने महानुभावहरु

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सातै प्रदेशमा नै सन्देश सभाको आयोजना गरिने जानकारी गराए । उनले परिवर्तनलाई गति दिने उद्देश्य सहित समाजवादी मोर्चा गठन भएको बताए । जनताका पीडा वेदना र वर्गीय विभेदको अन्त्य गर्ने लक्ष्य समाजवादी मोर्चाको रहेको भनाई उनको छ । ‘देशको अवस्था कहालीलाग्दो छ । अनुचित कुरामा विद्रोह भइरहेको छ । जसलाई चिर्न संसारमा नै समाजवादी शक्ति बलियो हुँदै गइरहेका छन् । अग्रगमन र प्रतिगमनबीचको संघर्षको अन्त्यका लागि समाजवादी मोर्चा खडा गरिएको हो ।’, उनले भने । समाजवादी मोर्चाको उद्देश्यमा बाधाअड्चन गर्नेलाई नाङ्गेझार पार्ने चेतावनी उनको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष विप्लव सीले नेपालको इतिहासमा नयाँ कुराको सुरुवात भएको उल्लेख गरे । उनले प्रतिगामी साम्राज्यवादीहरुको विरुद्धमा लड्नका लागि समाजवादी मोर्चाको आवश्यकता परेको बताए । जनताको अधिकार सुनिश्चित गर्न मोर्चा गठन गरिएको उनले बताए । नेपालको सत्तामाथि दलालपुँजीवादीहरुको हाबी भएको भन्दै उनले जनताले पुरा गर्न नसकेको लडाइ र लुटेरा प्रवृतिको विरुद्धमा आवाज बुलन्द पारिने बताए । ‘नेपाली विशेषताको समाजवाद गठन गर्ने लक्ष्य सहित हामी हिँडेका छौं । सरकार, सदन र सडकबाट नै नेपाली जनताको पक्षमा आन्दोलन हुन्छ । जसले वास्तविक समृद्धि र सुशासनको प्रत्याभूति दिलाउनेछ ।’, उनले भने ।

विप्लवले माओवादीहरु हत्यारा हुन्, यिनीहरुको अस्तित्व छैन भनेर नानाथरिका प्रचारप्रसार गरि बदनाम गराउने खोजिएको उल्लेख गरे । उनले भने, ‘माओवादीहरु फुट्न मात्रै नभई जुट्न पनि जानेका छन् ।” उनले अहिले नेपालमा धर्म, जाती र क्षेत्रका नाममा नेपालीले नेपालीलाई नै भड्काउन खोजिएको बताए । जसको कुनै तुक नरहेको भनाई उनको छ । मिलेर बसेको समाजलाई फुटाउने गरी कोहि आउँछ भने त्यो आफै पतन हुने भनाई उनको छ ।

जनता समाजवादी पार्टी नेपालका कार्यकारी सदस्य शिवलाल थापाले क्षणिक उद्देश्य सहित मोर्चा गठन नगरिएको बताए । उनले मुलुकको विकासका लागि समाजवादी मोर्चा गठन भएको उल्लेख गरे । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह र एकीकृत समाजवादी पार्टी मिलेर समाजवादी मोर्चा नेपाल गठन गरिएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

 

तस्बिर : प्रेम थापा, परिचय

Leave A Reply

Your email address will not be published.