काठमाडौं :
खोटाङ कलाकार समाजको आयोजनामा प्राज्ञ संगीतकार, गायक तथा गीतकार शान्तिराम राईको एकल सांगीतिक साँझ आगामी मंसिर १३ गते काठमाडौंमा हुने भएको छ।
खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईका अनुसार, खोटाङका अग्रज कलाकारहरूलाई सम्मान गर्न पहिलोपटक राईको एकल कार्यक्रम आयोजना गरिन लागेको हो। समाजले आगामी दिनमा पनि वार्षिक रूपमा यस्तो कार्यक्रम गर्ने लक्ष्य राखेको बताइएको छ।
काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै प्राज्ञ संगीतकार शान्तिराम राईले आफ्नो संघर्ष र नेपाली संगीतमा दिएको योगदानको कदर गर्दै कार्यक्रम आयोजना गरिदिएकोमा आयोजकलाई धन्यवाद दिए।

उनले भने, “मेरो जीवन नै संगीतमा समर्पित छ। यो शान्तिरामको मात्र होइन, सबै खोटाङेहरूको कार्यक्रम हो। सफल नहुँदा सबैको शिर निहुरिन्छ।”
प्रेसमिटमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, सांसद विशाल भट्टराई, नेता विष्णु राई, व्यवसायी टंक श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए। शान्तिराम राईले २०४६ सालमा रेडियो नेपालबाट लोकगीततर्फ स्वर परीक्षा उत्तीर्ण गरी सांगीतिक यात्रा सुरु गरेका थिए। तीन दशकभन्दा बढीको सक्रियतामा उनले १५०० भन्दा बढी गीतमा संगीत भरेका छन्।
कार्यक्रममा ‘तिमी तारे भीर म त लहरा’, ‘धोका दियौ तिमीले’, ‘छालहरू ओ छालहरू’, ‘आईडी कार्डैले’, ‘ए पहराकी फूल’ लगायत उनका लोकप्रिय गीतहरू प्रस्तुत गरिनेछन्। ती गीतहरू दीप श्रेष्ठ, सुक्मित गुरुङ, पवित्रा सुब्बा, राजेशपायल राई, मेलिना राईलगायत नव–पुराना कलाकारहरूले गाउनेछन्।
यसै अवसरमा खोटाङ कलाकार समाजले निर्माण गरेको ‘मुस्कुराउँछ सधैँभरी मेरो खोटाङ’ बोलको गीत पनि सार्वजनिक गरिएको छ। गीतमा खोटाङका १११ जना कलाकारको स्वर समावेश छ। गीतमा टंक भट्टराईको शब्द, महेश खड्काको संगीत, देबेश राईको एरेन्ज, लिम्दुमि क्रिएशन रेकर्डिङ स्टुडियोको रेकर्डिङ र राजेश पुमा राईको निर्देशन रहेको छ।
गीत निर्माणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य प्रायोजन तथा खोटेहाङ र ऐसलुखर्क गाउँपालिकाको आर्थिक सहयोग रहेको खोटाङ कलाकार समाजका महासचिव पार्वन राई ‘राई बुढा’ले जानकारी दिए।