सुचना, समाचार र मनोरन्जन

धौलागिरिको शितलतादेखि टेक्सासको रापसम्म

मनको मक्कलमा समाज सेवाको आगो जोगाइराखेकी शान्ता गिरी

पोखरा : मान्छेको भूगोल बदल्न समय लाग्दैन, तर स्वभाव बदल्न युगौँ लाग्छ । जसको नसामा समाजसेवाको रगत बगेको हुन्छ, उसलाई सात समुद्र पारिको दूरीले पनि छेक्न सक्दैन । भूगोलले टाढा बनाए पनि भावनाले नजिक्याउने ‘तन्तु’ भनेकै आत्मीयता र सेवा हो । ठिक यसरी नै, नेपालको धौलागिरि हिमालको काख बागलुङमा जन्मिएर, पर्यटकीय नगरी पोखरामा कर्म गर्दै, अहिले संयुक्त राज्य अमेरिकाको टेक्सासमा क्रियाशील रहेकी एउटी अथक यात्रीको नाम हो, शान्ता गिरी ।

घरदेश छोडेर परदेशमा एक दशकदेखि सङ्घर्षरत शान्ताको दैनिकी यान्त्रिक अमेरिकी जीवनमा मात्र सीमित छैन । उनको मनको ‘मक्कल’ मा अझै पनि समाजसेवाको राप र ताप उस्तै छ टेक्सासको गगनचुम्बी महलहरूको छायामा पनि उनी नेपालीपनको न्यानो खोज्छिन् र नेपाली समुदायको दुखाइमा मलम लगाउन तल्लीन छिन् । स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेर बिरामीको पीडा र संवेदनालाई नजिकबाट छामेकी शान्ता, अब नेपाली समाज टेक्सासको महिला उपाध्यक्ष पदमार्फत समुदायको घाउमा संस्थागत मलमपट्टी गर्न अग्रसर भएकी छिन् ।

पहाडको पौरखपोखरेली संस्कार

बागलुङको पाखापखेरामा बाल्यकाल बिताउँदा नै शान्तामा विद्रोहीसहयोगी स्वभावको बिजारोपण भइसकेको थियो । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ सानैदेखि समाजमा हुने विकृति र विसङ्गति विरुद्ध उनी निडर भएर उभिन्थिन् । जब उनी कर्मथलो खोज्दै पोखरा झरिन्, त्यहाँको माटोमा उनले आफ्नो नेतृत्व क्षमतालाई फुलाउने अवसर पाइन् ।

नेपालमा रहँदा उनले बागलुङ समाज सहकारीको अध्यक्ष भएर आर्थिक सशक्तीकरणको नेतृत्व गरिन् । सहकारी आन्दोलनमा मात्र होइन, ‘क्यान्सर रिलिफ सोसाइटी’ की सचिव भएर क्यान्सर पीडितहरूको आँसु पुछ्ने काममा उनी अहोरात्र खटिइन् । हेलन केलर इन्टरनेसनल, लुथरन विश्व सेवा, मणिपाल शिक्षण अस्पताल र सेती अञ्चल अस्पतालजस्ता प्रतिष्ठित संस्थाहरूमा काम गर्दा उनले स्वास्थ्य सेवा भनेको जागिर मात्र होइन, यो त मानवताको सबैभन्दा ठुलो धर्म हो भन्ने पाठ सिकिन् । त्यही अनुभवको पुँजी र संस्कार बोकेर आज उनी अमेरिकाको टेक्सासमा नेपाली समुदायको भरोसाको केन्द्र बनेकी छिन् ।

स्वास्थ्य र संवेदनाको सेतु

प्रवासमा नेपालीहरूले भोग्ने समस्या अनेक छन् । भाषाको कठिनाइ, कानुनी उल्झन र सांस्कृतिक अन्तरघुलनको सकस । तर, यी सबैभन्दा माथि जब प्रवासमा कोही बिरामी पर्छ वा महिलाहरूले हिंसा भोग्नुपर्छ, तब उनीहरूलाई आडभरोसा दिने मान्छेको खाँचो पर्छ । शान्ता गिरी त्यही खाँचो टार्ने एउटी सशक्त पात्र हुन् ।

विशेषगरी, महिला स्वास्थ्य र अधिकारका क्षेत्रमा शान्ताको काम ‘कुरा’ मा होइन, ‘नतिजा’ मा देखिन्छ । नेपाली समाज टेक्सासको कार्यसमिति सदस्य (२०२२२३) र महिला संयोजक (२०२४२५) रहँदा उनले गरेका कामहरू यसका ज्वलन्त साक्षी हुन् । महिलाहरूमा हुने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्न उनले ‘म्यामोग्राम’ र ‘प्याप स्मेयर’ जस्ता जीवनरक्षक स्वास्थ्य शिविरहरूको सफल आयोजना गरेर धेरैको जीवनमा उज्यालो छरेकी छिन् ।

प्रवासमा धेरैले लुकाउने ‘घरायसी हिंसा’ को घाउलाई कोट्याएर पीडितलाई न्याय र परामर्श दिलाउन उनी कहिल्यै पछि हटिनन् । मानसिक स्वास्थ्यको विषयलाई समुदायमा खुला बहसको विषय बनाउन उनले खेलेको भूमिका आफैँमा प्रशंसायोग्य छ । उनी भन्छिन्, ‘‘स्वास्थ्य क्षेत्रमा काम गर्दा मैले मान्छेको दुखाइको गहिराइ नापेकी छु । पदमा बसेर त्यो दुखाइलाई कम गर्ने नीति बनाउन र कार्यान्वयन गर्न म आतुर छु ।’’

ग्रासरुटदेखि नेतृत्वसम्मको यात्रा

शान्ता गिरीको उम्मेदवारी कुनै आकस्मिक दुर्घटना वा रहर मात्र होइन । यो त निरन्तरको लगाव र अनुभवले खारिएर गरिएको स्वभाविक आरोहण हो । धेरैले पदलाई प्रतिष्ठाको विषय बनाउँछन्, तर शान्ताले पदलाई ‘जिम्मेवारी’ को रूपमा लिएकी छिन् । उनी ‘जग र जरास्तर’ बाट उठेर आएकी नेतृ हुन् । आजीवन सदस्य, कार्यसमिति सदस्य हुँदै महिला संयोजकको भूमिका कुशलतापूर्वक निर्वाह गरेपछि मात्र उनले उपाध्यक्षको दाबी गरेकी हुन् ।

समाजलाई जोड्ने उनको अर्को पाटो उद्यमशीलता हो । पोखरामा ‘बि एण्ड बि क्लिनिक’ देखि ‘हिमालयन मौरी खर्क’ सम्मको व्यवस्थापकीय अनुभव सँगालेकी शान्ताले अमेरिकामा पनि महिला उद्यमीहरूलाई प्रोत्साहन र सबलीकरण गर्न कम्मर कसेकी छिन् । उनी ठान्छिन्, जबसम्म महिला आर्थिक रूपमा सक्षम हुँदैनन्, तबसम्म साँचो अर्थमा सशक्तीकरण सम्भव छैन ।

आधा आकाशको बलियो खम्बा

आधा आकाश’ ओगट्ने महिलाहरूको प्रतिनिधित्व केवल भाषणमा मात्र सीमित हुनु हुँदैन भन्ने उनको मान्यता छ । नेपाली समाज टेक्सासमा आसन्न २०२६२७ को कार्यकालका लागि नेतृत्व चयनको बहस चलिरहँदा शान्ता गिरीको नाम अग्रपङ्क्तिमा आउनुको कारण उनको ‘विगत’ हो । उनी स्पष्ट भिजन राख्छिन् । महिलाको अधिकार, आवाज, संरक्षण र आवश्यकतामा सशक्त नेतृत्व ।

अन्तर्राष्ट्रिय महिला दिवसको आयोजना होस् वा आपतकालीन सहयोग र समन्वय, शान्ता सधैँ अग्रमोर्चामा देखिन्छिन् । उनको कार्यशैली पारदर्शी छ, स्वभाव मिलनसार छ र उद्देश्य पवित्र छ । समाजसेवामा ‘म’ होइन ‘हामी’ भन्ने भावना बोक्ने शान्ता, टेक्सासबासी नेपालीहरूको साझा ढुकढुकी बन्न सफल भएकी छिन्

किन शान्ता गिरी ?

समाज सेवामा होमिएकी एउटी नारी, जो आफ्नो पेसागत दक्षता (स्वास्थ्य) र सामाजिक अनुभवलाई एकै ठाउँमा मिसाएर समुदायको हितमा खर्चिन चाहन्छिन् । शान्ता गिरीको उम्मेदवारी केवल एउटा पदप्राप्तिका लागि होइन, यो त टेक्सासमा रहेका नेपाली महिलाहरूको आत्मसम्मान, सुरक्षा र स्वास्थ्यको ग्यारेन्टीका लागि हो ।

आगामी निर्वाचनमा ब्यालेट बक्समा खस्ने हरेक मतले केवल एउटा उम्मेदवार मात्र चुन्ने छैन, बरु समाजलाई कस्तो नेतृत्व सुम्पिने भन्ने भविष्य पनि निर्धारण गर्नेछ । अनुभव, निष्ठा, अनुशासन र परिणाममुखी कार्यशैली रुचाउनेहरूका लागि शान्ता गिरी एक निर्विकल्प रोजाइ हुन् । उनको मनको मक्कलमा बलिरहेको समाज सेवाको त्यो रापले नेपाली समाज टेक्सासलाई थप न्यानो, सुरक्षित, उज्यालो र प्रकाशमय बनाउनेछ भन्नेमा दुईमत छैन । शान्ता गिरी अपिल गर्छिन्, ‘‘तपाईंहरूको विश्वास नै मेरो शक्ति हो । मलाई मत दिएर विजयी गराउनुहोस्, म काम गरेर प्रमाणित गर्नेछु ।’’ 

सुरेश रानाभाट/परिचय

Leave A Reply

Your email address will not be published.