काठमाडौं :
लोक–आधुनिक गायनमा सक्रिय शान्तीश्री परियारले आज एकै दिन पाँच गीत रेकर्ड गराउँदै चर्चा कमाएकी छन्। लगातार पाँच गीतको रेकर्डिङ सम्पन्न गर्दै उनले आफ्नो स्वर र व्यस्तता दुवैका कारण संगीत क्षेत्रमा नयाँ ऊर्जा थपेको उद्योग सम्बन्धी व्यक्तिहरूले बताएका छन्।
परियारले रेकर्ड गराएका गीतहरुमा “शिरदेखि पाऊँ”, “मोति झैँ”, “चर्को नबोल”, “हाँस्दै हाँस्दै” र “हे प्रियतम” समावेश छन्। प्रत्येक गीतमा फरक–फरक स्वर–शैली र प्रस्तुति आवश्यक भएकाले एकै दिनमा पाँच गीत पूरा गर्नु चुनौतिपूर्ण काम मानिन्छ।
गीत ‘शिरदेखि पाऊँ’मा बिजय चन्द दर्पण र बाबु कृष्ण परियारले सहकार्य गरेका छन् भने ‘मोति झैँ’मा देवेन्द्र बब्लु र सुनिल बिक संलग्न छन्। त्यसैगरी ‘चर्को नबोल’मा प्रकाश तेज र बिनोद, ‘हाँस्दै हाँस्दै’मा नबिन परियार र सूर्य खड्का तथा ‘हे प्रियतम’मा पृतम श्रेष्ठ र याम थापाले संगीत–रचना गरेका छन्।
शान्तीश्री परियारले एकै दिन पाँच गीत रेकर्ड गर्न सफल हुनु आफूका लागि उत्साहजनक उपलब्धि भएको बताइन्। उनले सबै गीतकार, संगीतकार र सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै श्रोताले आगामी दिनमा नयाँ धारका गीत सुन्न पाउने विश्वास व्यक्त गरिन्।
गायिका परियारले पछिल्लो समय निरन्तर रेकर्डिङ र लाइभ कार्यक्रममार्फत नेपाली संगीत क्षेत्रमा आफ्नो सक्रियता विस्तार गरिरहेकी छन्। आज सम्पन्न भएको रेकर्डिङ भएका पाँच गीत चाँडै सार्वजनिक हुने तयारीमा छन्।