पोखरा :
प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस (सेल्स, सर्भिस एन्ड स्पेयर पार्ट्स) आउटलेट सञ्चालनमा ल्याएको छ । ऋषि ट्रेड सेन्टर (आरटीसी)को आधिकारिक वितरणमा रहेको सीएफमोटोको नयाँ आउटलेट हिमालय अटो नेक्सस प्रालिले शनिबारदेखि सञ्चालनमा ल्याएको हो ।
बुद्धचोकमा रहेको सोरूम र शिवचोकमा रहेको सर्भिस सेन्टरको उद्घाटन पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले गरिन् । उद्घाटन समारोहमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइराला, पोखरा उद्योग वाणिज्य संघका सदस्य केशव ढकाल लगायतको विशेष आतिथ्यता थियो । उद्घाटनका क्रममा कम्पनीले आठ थान मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ ।
आरटीसीका महाप्रबन्धक उज्ज्वल जोशीका अनुसार उद्घाटनको अवसरमा सीएफमोटोका मोटरसाइकल खरिद गर्ने ग्राहकलाई २० हजार रुपैयाँसम्म नगद छुटका साथै निःशुल्क हेल्मेट र ह्यान्डगार्ड उपलब्ध गराइएको छ । ‘उद्घाटन अवसरमा ग्राहकलाई विशेष अफर दिएका छौं,’ उनले भने, ‘२५० ड्युअलमा पाँच वर्षको इन्जिन वारेन्टी र फाइनान्सबाट मोटरसाइकल खरिद गर्दा न्यूनतम ४० प्रतिशत भुक्तानीमा बाइक लिन सकिने व्यवस्था गरेका छौं ।’
नयाँ आउटलेटबाट सीएफमोटोका मोटरसाइकल बिक्रीसँगै नियमित सर्भिसिङ, प्राविधिक जाँच, जेन्युइन स्पेयर पार्ट्स, टेस्ट राइड तथा बिक्रीपछिको सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । पोखरा हुँदै हिमाली तथा उच्च पहाडी क्षेत्रमा मोटरसाइकल यात्रा गर्ने ग्राहकलाई बिक्रीपछिको सेवा र प्राविधिक सहयोग सहज बनाउने उद्देश्यले ३एस आउटलेट सञ्चालनमा ल्याइएको हो ।
आरटीसीका सेल्स हेड विभव कार्कीका अनुसार पोखरा प्रिमियम तथा एड्भेन्चर मोटरसाइकलका लागि विस्तार हुँदै गएको बजार हो । ‘पोखरा गण्डकीको प्रमुख व्यावसायिक र पर्यटन केन्द्र मात्र होइन, हिमाली तथा उच्च पहाडी गन्तव्यतर्फ जाने मोटरसाइकल यात्राका लागि पनि महत्त्वपूर्ण प्रवेशद्वार हो,’ कार्कीले भने, ‘त्यसैले यहाँ बिक्रीसँगै सर्भिस र जेन्युइन स्पेयर पार्ट्सको सुविधा दिनु आवश्यक देखेर ३एस आउटलेट सञ्चालनमा ल्याएका हौं ।’
सीएफमोटोका नेपालमा २५० ड्युअल ईएफआई, ४५० एमटी, ४५० सीएल–सी, ४५० सीएल–सी बोबर र ४५० एसआर–एसलगायत मोडल बिक्री हुँदै आएका छन् । कम्पनीले विशेषगरी एड्भेन्चर तथा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो बजार विस्तार गरिरहेको जनाएको छ ।
हिमालय अटो नेक्सस प्रालिका सञ्चालक महेश श्रेष्ठले पोखरा तथा गण्डकी प्रदेशका ग्राहकलाई बिक्रीसँगै सेवा र प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्य रहेको बताए । उक्त सोरूमबाटै निकट भविष्यमै जिहो ब्रान्डको इलेक्ट्रिक स्कुटरको पनि बिक्री सुरू गर्ने उनले जानकारी दिए । कम्पनीले आगामी दिनमा देशका प्रमुख सहरमा बिक्री, सर्भिस र स्पेयर पार्ट्सको नेटवर्क विस्तार गर्ने जनाएको छ ।