सुचना, समाचार र मनोरन्जन

के हो सफतग्रहणमा बालेनले लगाएको ‘सिलाम साक्मा’

अपराह्न करिब १ बजेर ५५ मिनेट जाँदा दक्षिणतर्फको प्रवेशद्वारबाट प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सवार बा।प्र ०१ ०३३ च ७८८१ नम्बरको निजी गाडी संसद् भवनको मूल प्रवेशद्वार अघि रोकियो । गाडीबाट ओर्लेर संसद् भवनको मूल प्रवेशद्वारतर्फ प्रस्थान गर्ने क्रममा उहाँ सञ्चारकर्मीको घेरामा पर्नुभयो ।
कालो कोटमा किराँती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ पहिरिएर नेता शाह शपथ समारोहस्थल प्रवेश गर्नुभयो । किराँती भाषामा ‘सि’ को अर्थ मृत्यु र ‘लाम’ अर्थ बाटो भन्ने हुन्छ । सिलाम साक्मा लगाउँदा मृत्युको बाटो छेकिन्छ भन्ने विश्वास गरिन्छ । यसले शुभ सङ्केतको अर्थ पनि जनाउँछ भने यसलाई खासगरी रक्षा कवचका रुपमा लिइन्छ । समारोह स्थलमा उहाँ बैठक कक्षको पहिलो लहरमा बस्नुभयो । रास्वपाबाट प्रधानमन्त्रीका रुपमा प्रस्तावित उहाँको दायाँतर्फ सभापति रवि लामिछाने र बायाँतर्फ उपसभापतिद्वय डिपी अर्याल र डा स्वर्णिम वाग्ले रहनुभएको थियो ।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शपथ समारोहमा सहभागी नवनिर्वाचित सांसदहरुलाई स्वागत गर्नुभयो । बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उपस्थित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । शपथ समारोह सकिएलगत्तै वरिष्ठ नेता शाह संसद् भवनबाट आफैँ गाडी चलाएर बाहिरिनुभयो ।
झापा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीमा प्रस्तावित गरेको छ । रास्वपाले नेता शाहलाई संसदीय दलका रुपमा चयन गर्ने तयारी गरेको छ । त्यसका लागि आजै अपराह्न बैठक आह्वान गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा १८२ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित शाह युवापुस्ताबीच लोकप्रिय हुनुहुन्छ । पेसाले ‘स्ट्रक्टचरल इन्जिनियर’ शाह चर्चित ‘(यापर’का रुपमा पनि परिचित हुनुहुन्छ ।
Leave A Reply

Your email address will not be published.