सिन्धुपाल्चोक,
हाम्रो समाजमा एउटा उक्ति छ– ‘पानी खुवाउनु जस्तो ठूलो धर्म अरू केही हुँदैन।’ यही भनाइलाई कर्म बनाएका व्यक्ति हुन् सिन्धुपाल्चोकका भरतप्रसाद पराजुली। आज उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। तर राजनीतिमा आउनुअघि नै उनी सिन्धुपाल्चोकका काकाकुल बस्तीमा पानी पिलाउने सामाजिक अभियन्ताका रूपमा परिचित भइसकेका थिए। कुनै समय यहाँका धेरै गाउँमा स्थानीयवासी घण्टौँ हिँडेर खोलाबाट पानी बोकेर जीवन धान्न बाध्य थिए। यही पीडालाई नजिकबाट बुझेका पराजुलीले २०५५ सालदेखि सिन्धुपाल्चोक–१ का सुख्खा बस्तीमा खानेपानी पुर्याउने अभियानको नेतृत्व गरे।
राजनीतिक पहिचानभन्दा पहिले पराजुलीको परिचय सामाजिक अभियन्ताका रूपमा स्थापित भयो— जसले पानी, सरसफाइ, साक्षरता र आयआर्जनलाई एउटै अभियानमा गाउँसम्म पुर्याए।
२०५५ सालमा साबिकको मांखा गाविसको जोगीडाँडाबाट सुरु भएको खानेपानी योजनामार्फत ६० भन्दा बढी घरधुरीमा पहिलोपटक धारा पुगेको थियो।
स्थानीय टंकप्रसाद पराजुली भन्छन्,“एसएलसी सकेर काठमाडौं जाने तयारीमा थिएँ। तर गाउँमा खानेपानी योजना सुरु भएपछि त्यो योजना सकेर मात्रै म काठमाडौं आएँ। अहिले पनि हामी त्यही पानी पिइरहेका छौँ।”
त्यसपछि पराजुली महासचिव रहेको एकीकृत ग्रामीण विकास तथा वातावरण संरक्षण मञ्च मार्फत करिब सात वर्षसम्म सिन्धुपाल्चोकका विभिन्न गाउँमा एकपछि अर्को खानेपानी योजना सञ्चालन भए। मान्द्रा, जोगीडाँडा, पिस्करको जलजले, धुस्कुन, थुम्पाखर, चिलाउने, धुस्कोट, सिक्रे–मार्मिङ, नागपुजे, सिम्ले लगायतका बस्तीमा धारा पुगे। त्यसबेला गाविसलाई सरकारबाट प्राप्त सीमित बजेटले आधारभूत आवश्यकता पनि पूरा गर्न कठिन थियो। सरकारी संयन्त्र कमजोर देखिएको अवस्थामा गैरसरकारी पहलले गाउँमा प्रत्यक्ष परिवर्तन ल्याएको स्थानीय बताउँछन्।
पानीबाट सुरु अभियान, पानीमै निरन्तर खानेपानी योजनाबाट सामाजिक अभियानमा सक्रिय बनेका पराजुली पछिल्ला केही वर्षयता सिन्धुपाल्चोकको बलेफी करिडोर र जलविरे खोलामा निर्माण भइरहेका विभिन्न जलविद्युत् आयोजनामा संलग्न छन्। हाल जुगल गाउँपालिका–२ मा ४५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छ। यस आयोजनाबाट करिब २०० भन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्।
पराजुलीका अनुसार आगामी महिनामा स्थानीयलाई प्रमोटर सेयरमार्फत साझेदार बनाउने योजना छ। “स्थानीयलाई सेयरधनी बनाउँदा मात्रै विकासको प्रतिफल गाउँमै रहन्छ,” उनी भन्छन्। राजनीतिक यात्रा स् सेवा भावको निरन्तरता पराजुली सुरुदेखि नै राजनीतिक गतिविधिमा संलग्न थिए। नेकपा एमालेमा सक्रिय रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी गठनपछि त्यससँग नजिक रहे। सार्वजनिक पद नलिए पनि पछिल्लो समय उनी राजनीतिक रूपमा खुलेर अघि आएका छन्। “राजनीति सेवा हो, व्यवसाय होइन,” पराजुली भन्छन्,“मेरो व्यवसाय संस्थागत भइसकेको छ। अब समाजका लागि काम गर्न राजनीतिमा आएको हुँ।”
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का जनताको जीवनस्तर सुधार्ने, स्थानीयलाई उद्यमशील बनाउने र विकासलाई स्थानीय हातमा ल्याउने उद्देश्यसहित आफू उम्मेदवार बनेको उनको भनाइ छ। तत्कालीन जलविरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामलाल उनले भने “त्यतिबेला उहाँले हामीलाई पानी दिनुभयो, आज हामी उहाँलाई साथ दिन चाहन्छौँ।” काकाकुल बस्तीमा पानी पुर्याउने त्यो हात अब जनताको प्रतिनिधि भएर नीति बनाउने ठाउँमा पुगेर विकासको ढोका खोल्न सफल हुन्छ कि हुँदैन यसको अन्तिम फैसला भने मतदाताले गर्नेछन्।
