सुचना, समाचार र मनोरन्जन

१७ वर्षपछि दार्जिलिङका बद्री, दुर्गा खरेल फेरि पलेँटीमा

 

काठमाडौं : हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यस पटक दार्जिलिङका प्रसिद्ध साङ्गीतिक जोडी बद्री,दुर्गा खरेल प्रस्तुत हुने भएका छन्।

पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो।

यस महिनाको कार्यक्रमका निम्ति यस जोडीले आफ्ना सुप्रसिद्ध गीतहरूका साथै गीतकार दिनेश अधिकारीका नयाँ शब्दमा धुन भरेर ल्याएका छन्। जसलाई बद्री, दुर्गाका साथ पलेँटीकी नयाँ कण्ठ-शिल्पी अभिज्ञा घिमिरेले आफ्नो स्वरमा सजाउने छन्। यस कार्यक्रमलाई पुरानो र नयाँ पुस्ताको मिलन बिन्दूको रुपमा पनि लिन सकिन्छ।

बद्री, दुर्गा दार्जिलिङको नेपाली साङ्गीतिक जगतमा मात्र नभएर सम्पूर्ण नेपालीभाषी श्रोता बीच स्थापित नाम हो। खासगरी यो जोडीको सृजना- ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ लाई नेपाली जगतले आजसम्म पनि उत्तिकै रुचाएको पाइन्छ।

Pach Pandav

दार्जिलिङकै स्वर-शिल्पी दावा ग्याल्मोले गाएको ‘शुभकामना खाली खाली’ पनि यही सङ्गीतकार जोडीको अर्को सृजना हो। मन बहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’को चर्चित गीत ‘सारङ्गीको तारले मेरो मनको गीत गाउछ’ दार्जिलिङमा मञ्चन हुँदा यही जोडिका दुर्गा खरेलले प्रत्यक्ष गाएका थिए। रेडियो नेपालमा रेकर्ड गर्ने मौका भने गायक कुमार सुब्बाको भागमा पर्‍यो र उनलाई नेपाली गायन जगतमा लोकप्रियता प्रदान गर्‍यो।

यसपालीको पलेँटी बारे कार्यक्रम संयोजक आभास भन्छन्- ‘पुराना साङ्गीतिक कर्मीहरूलाई नयाँ सृजनाका निम्ति झकझकाउनु पर्छ भन्ने उदेश्य पलेँटीले लिएको छ। त्यही भएर यसपालीको पलेँटीलाई आंशिकरुपमा गीतकार दिनेश अधिकारीसँग सङ्गीतकार बद्री, दुर्गा खरेललाई जोड्ने चाँजो मिलाएका हौं।’

पहिलो पल्ट सन् २००८ मा पलेँटी कसेका दुर्गा खरेल भन्छन्- ‘लामो अन्तरालपछि आफ्नो साङ्गीतिक कर्मथलोमा आउन पाउँदा एकदमै आनन्दित भएका छौं। साङ्गीतिक क्षेत्रबाट फेरि ओझेल परियो कि कसो भनी सोचिरहेको बेला पाएको यो मौकाले आफ्नो सङ्गीतकर्मप्रति झन् विश्वास जगाएको छ।’ खुसी व्यक्त गर्दै उनले हार्मोनियमका पर्दामाथि आफ्ना औंलाहरू कुदाए।

सन् २००८ मै पहिलोखेप पलेँटीमा आएका बद्री खरेल भन्छन्- ‘पहिलोपाली पलेँटीमा आउँदा त यो कार्यक्रमका बारेमा अनभिज्ञ थियौं। फेरि लामो समय बाद यता आएका छौं। पहिले जस्तै गीत, सङ्गीतप्रेमीको माया पाउनेमा विश्वस्त छौं।’

पलेँटी कार्यक्रम यही जुन महिनाको अन्तिम शुक्रबार; २७ र २८ तारिख; शनिवारका दिन आयोजना हुनेछ। कालिकास्थानस्थित नेपालयको ‘आर’सालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.