सुचना, समाचार र मनोरन्जन

ब्राण्ड बन्दै स्ट्रिट फेस्टिवल, लेकसाइडको स्वरुप परिवर्तनमा कोसेढुंगा साबित

सन्तोष बस्याल
पोखरा ।

आज भन्दा ३० वर्ष अगाडि पोखराको विकास अहिलेजस्तो थिएन । लेकसाइडमा औंलामा गन्न सक्ने रेष्टुरेण्ट होटलहरु थिए । पर्यटनलाई बढ्वा दिने कार्यक्रम हुदैन्थे । कारण त्यसतर्फ सोच्ने र नयाँ विषयलाई भित्र्याउनेहरुको अभाव थियो । पुरानै शैलीमा प्रचारप्रसार हुन्थ्यो । तर अहिले आएर त्यसको स्वरुप र आयतन फेरबदल भएको छ । २५ वर्ष अगाडि सुरु गरिएको स्ट्रिट फेस्टिबल लक्काजवान भएको छ ।

रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको स्थापना सँगै वर्षेनी आयोजना हुने स्ट्रिट फेस्टिवलका कारण लेकसाइडको आवरण बदल्यिो भन्दा फरक नपर्ला । लेकसाइडको स्वरुप परिवर्तनमा स्ट्रिट फेस्टिवल कोसेढुंगा साबित भएको छ । पर्यटक भित्र्याउन अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सडकमै खाउ सडकमै रमाऔं नारा सहित महोत्सवको आयोजना गरियो । जसले वर्षको एक दिन न्यू एयर ईभमा पोखरा आउनै पर्छ भन्ने छाप आम मानिसमा बसाल्यो ।

फूड फेस्टिवलबाट सुरु भएको सडक महोत्सव आज यो स्थानमा आइपुग्ला भनेर कसैले सोचेको थिएन । निरन्तरताको प्रतिफल हो भन्दा अत्युक्त नहोला । ढ्याङग्रो ठटाएर विज्ञापन गर्नुपर्ने अवस्थाबाट उठेको स्ट्रिट फेस्टिवल आज सामाजिक संजाल मार्फत प्रचारप्रसार गर्ने समयमा पुगेको छ ।

जानकार अनुसार फूड फेस्टिवल भइसकेपछि मात्र रेवान ब्युतिएको हो । रेवानको आगमन भइसकेपछि मात्र यसको नामाकरण परिवर्तन गरी स्ट्रिट फेस्टिवल राखिएको बताइन्छ ।
स्ट्रिट फेस्टिवलका कारण लेकसाइडमा थुप्रै होटल रेष्टुरेण्टहरु संचालनमा आएका छन् । रोजगारी सिर्जना भएका छन् । आत्मनिर्भर हुने आधार मिलेको छ ।

स्ट्रीट फेस्टिवलको परिकल्पना

स्ट्रीट फेस्टिवलको परिकल्पना युरोपबाट भएको हो । बेलायतमा आयोजना हुने स्ट्रिट फेस्टिवलको अवलोकन पश्चात मात्र लेकसाइडमा आयोजना गरिएको जनाइएको छ । २७ वर्ष अघि स्थापना भएको रेवानले नेपाल भ्रमण वर्ष १९९८ को अवसर पारेर एक दिने सडक महोत्सव सुरुवात गरेको थियो । त्यसको केही वर्ष पश्चात मिलिनियम सेलिब्रेसनको लागि ५ दिने स्ट्रीट फेस्टिवल गरियो । फेस्टिवल मार्फत पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थरमा चिनाउन सहयोग पुग्यो । समयको अन्तरालपछि स्ट्रीट फेस्टिवल ‘पोखरा स्ट्रीट फेस्टिवल’ मा परिणत भयो ।

स्ट्रिट फेस्टिवल पोखराका लागि नौलो कार्यक्रम भएकाले सबैको रुचाइमा पर्यो । आजसम्म पनि यथावत नै छ । यसपालीको स्ट्रिट फेस्टिवल २५ औं संस्करणको हो । पुस १२ देखि १६ गते सम्म आयोजना हुने फेस्टिवलमा नेपालका चर्चित लोकदोहोरी कलाकार देखि चर्चित ब्याण्डहरुको प्रस्तुति रहनेछ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउने गरी स्थानीय उत्पादनको प्रवद्र्धन एवम् बजारीकरणमा समेत ध्यान दिइएको आयोजक संस्था रेवानले जनाएको छ । सडकमा नै खाने र सडकमा नै रमाउने हुँदा अरु महोत्सव भन्दा सडक महोत्सव पृथक देखिन्छ । पछिल्लो समय आर्थिक मन्दीका कारण सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा महोत्सव मार्फत महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

Leave A Reply

Your email address will not be published.