काठमाडौं :
महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ। मंगलबार माघे संक्रान्तीको अवसरमा निर्माण टिमले फिल्ममा समावेश पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरेको हो।
दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीतमा डेविट शंकरको स्वर छ। यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टले नाचेका छन्। यसअघि २०७२ सालमा रिलिज भएको सिनेमा ‘रेशम फिलिली’ लोकप्रिय गीत ‘पारी त्यो डाँडा’ले दर्शकमाझ चर्चित बनेको थियो । सोही लेवलको चर्चा आज रिलिज भएको ‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्डैमा’ले पनि पाउने अपेक्षा छ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण फिल्मका लेखक र निर्देशक निरोज महर्जन हुन्। रौनक विक्रम कडेल निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा छन्। यो फिल्मले गीत संगीतको माध्यमबाट दर्शकमाझ पुरानो ‘रेशम फिलिली’को जस्तो प्रभाव छोड्ने विश्वास निर्माण टिमको छ।
फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ। यो फिल्ममा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा रहेको छ। यो फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।