काठमाडौँ :
बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजमा नेतृत्व पुस्तान्तरणको प्रक्रिया अघि बढेको छ। संस्थाका केन्द्रीय अध्यक्ष दीपक नेपाल र सह–सचिव तथा सूचना विभाग प्रमुख कुल नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।
२०७७ सालदेखि अध्यक्ष रहँदै ट्याक्सी पेशालाई व्यवस्थित र सशक्त बनाउन योगदान दिएका नेपालले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्दै राजीनामा घोषणा गरेका हुन्। उनले एक व्यक्तिले निरन्तर नेतृत्व गर्नु संस्थागत संस्कृतिका दृष्टिले उचित नभएको उल्लेख गर्दै युवाले नयाँ सोच र ऊर्जा सहित संस्थालाई अझ सबल बनाउन सक्ने विश्वास व्यक्त गरे।
यस्तै, लामो समयदेखि सह–सचिव तथा सूचना विभाग प्रमुखका रूपमा रहेर योगदान दिएका श्रेष्ठले पनि पुस्तान्तरणलाई अपरिहार्य ठहर गर्दै पद त्यागेका छन्। उनका अनुसार नयाँ पुस्ताले संस्थालाई भविष्यप्रति अझ प्रतिबद्ध बनाउन सक्ने भएकाले नेतृत्वको अवसर युवाहरूकै हातमा जान आवश्यक छ।
दुवै नेताको राजीनामालाई संस्थाभित्र लोकतान्त्रिक संस्कार र नयाँ पुस्ताको सहभागितालाई प्रोत्साहन गर्ने ऐतिहासिक कदमका रूपमा लिइएको छ। उनीहरूको कार्यकालमा समाजले ६ हजारभन्दा बढी सदस्यलाई एकताबद्ध गर्दै ट्याक्सी व्यवसायसँग सम्बन्धित चुनौती समाधानमा सक्रिय भूमिका खेलेको थियो।