काठमाडौं :
नेपालको एकमात्र टेलिफिल्म तथा वेबसिरिज अवार्डको ग्रान्ड फिनालेको तयारी तीब्ररुपमा भइरहेको बक्स अफिस इन्टरनेशनल ग्रुपले बताएको छ। विगतका वर्षमा झैं यो वर्ष पनि टेलिफिल्म अवार्डको अवसरमा ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कप आयोजनाको बृहत् तयारी सुरु गरिएको छ।
बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा यही मंसिर २८ गते शुक्रबार र २९ गते शनिबार गरी २ दिन टेलिफिल्म नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। फाइनल अगाडि साँझ वेबसिरिजतर्फ २२ विधा र राष्ट्रिय टेलिभिजनमा नियमित प्रशारण हुँदै आएको टिलिफिल्मतर्फ २२ विधामा अवार्ड वितरण गरिने ग्रुपले जनाएको छ। सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि हुने ग्रुपले बताएको छ।
टेलिफिल्म अवार्डको प्रचारप्रसारका लागि विगत लामो समयदेखि अवार्डको पूर्वसन्ध्यामा ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कप गरिँदै आएको छ।
काठमाडौंको बौद्ध महांकालमा सञ्चालित ७ ए साइडको इलाइट फुटसलमा हुने यस प्रतियोगिताका लागि मंसिर २६ गतेसम्म टिम दर्ता खुला गरिएको छ। सबैको सहजताका लागि ९८५१०१८४०१ मा सिधै सम्पर्क गरी टिम दर्ता गर्न सकिने र यो वर्ष टिम दर्ता शुल्कमा भारी छुट दिइएको ग्रुपले जनाएको छ । सहभागी इच्छुक टिमले मंसिर १ देखि १५ गतेसम्म आवेदन दिए ५ हजार ९००, मंसिर १६ गतेदेखि २० गतेसम्म आवेदन दिए ६ हजार ९००, मंसिर २१ गतेदेखि मंसिर २५ गतेसम्म आवेदन दिए ७ हजार ९००, मंसिर २३ र २७ मा अथवा कार्यक्रमको मुखैमा आएर अचानक आवेदन दिए ९ हजार शुल्क तोकिएको पनि आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा कम्तीमा ४३ टिमले सहभागिता जनाउने आयोजकको अपेक्ष छ। एन्फा मान्यता रेफ्रीले लिग चरणका खेल २० मिनेट र फाइनल खेल ३० मिनेट खेलाउने आयोजकको भनाइ छ। प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट हुने खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपरलगायतलाई पनि पुरस्कार पाउने आयोजकले बताएको छ।
आयोजक बक्स अफिसले फुटबललाई मनोरञ्जन क्षेत्रमा प्रत्यक्षरुपमा जोड्न हरेक २ महिनाको अन्तरमा रामबहादुर गोल्ड कप, टेलिफिल्म फुटबल कप, फिल्म च्याम्पियन फुटबल कप र म्युजिक फुटबल कप गरी वर्षमा ४ वटा फुटबल प्रतियोगिता गर्दै आइरहेको अध्यक्ष आरके सुवेदीले जानकारी दिए । यसआगाडि संस्थाले १८औं विश्व कीर्तिमानी रामबहादुर ‘आरके’ सुवेदी गोल्डकप–२०८१ सम्पन्न गरेको थियो। उक्त प्रतियोगितामा कुल १० लाखको कारोबार भएको थियो भने प्रतियोगिताको मुनाफा रकमबाट बाढी पोहिरो राहत कोषमा ३५ हजार रुपैयाँ जम्मा गरिएको थियो।