पोखरा/
पोखराको प्रतिष्ठित टाइगर ग्रुप अफ नेपालले आयोजना गर्दै आएको टाइगर कप भलिबल प्रतियोगिताले यस वर्ष एनसेलको मुख्य प्रायोजन पाएको छ। देशकै स्थापित टेलिकम कम्पनी एनसेलले प्रतियोगितालाई प्रायोजन गरेपछि यसको नाम परिवर्तन भई ‘एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८१’ राखिएको छ।
बोलीचालीमा ‘एनसेल प्रिजेन्ट्स पाँचौं टाइगर कप’ का रूपमा परिचित हुने यो प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा आयोजना हुनेछ।
एनसेल मुख्य प्रायोजक बन्ने सम्झौता टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा र एनसेलका प्रतिनिधिबीच हस्ताक्षर भएको हो। प्रतियोगितामा नेपालसहित विदेशका १२ टिम (पुरुषतर्फ ६ र महिलातर्फ ६) सहभागी हुनेछन्। खेल लिग कम नकआउटका आधारमा हुनेछ।
पुरस्कारको आकर्षण
प्रतियोगितामा पुरुष र महिलातर्फ समान पुरस्कार राशी तोकिएको छ, जसले लैंगिक समानतालाई प्राथमिकता दिएको छ।
प्रथम पुरस्कार: रु. ५,८५,५५५/–
द्वितीय पुरस्कार: रु. २,८५,५५५/–
तृतीय पुरस्कार: रु. १,८५,५५५/–
सर्वश्रेष्ठ खेलाडी: नगद रु. २५,०००/–, शिल्ड, मेडल, र प्रमाण–पत्र।
प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल टिमहरूको उत्कृष्ट प्रदर्शनको प्रतिक्षामा रहेको छ। सचिव डिबी नेपालीका अनुसार, यो संस्करणले पोखराको खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्याउँदै अन्तर्राष्ट्रिय स्तरको झल्को दिने आयोजकको बिश्वास छ ।
एनसेलको सहकार्यले प्रतियोगिताको गरिमा र व्यवस्थापनमा थप निखार ल्याउने अपेक्षा गरिएको छ। खेलप्रेमीलाई माघको चिसोमा भलिबलको जोश र रोमाञ्चक क्षणहरूको अनुभव गराउने यो प्रतियोगिता नेपाली खेलकुदमा महत्वपूर्ण कोसेढुङ्गा बन्नेछ।