पोखरा/
मोफसलमै रहेर नेपाली भलिबलको जरो मजबुत बनाउँदै सामाजिक रुपान्तरणमा सक्रिय टाइगर ग्रुप अफ पोखरा नेपालले भर्खरै नेपाल भलिबल संघ (एनभीए) बाट ‘उत्कृष्ट संस्था’ को रुपमा उच्च सम्मान पाएको छ।
राजधानी काठमाडौँमा आयोजित विशेष समारोहका अवसरमा उक्त संस्था सम्मानित भएको हो। नेपालभर क्रियाशील सयौं संस्थाहरूमध्ये टाइगर ग्रुपलाई छनोट गरी प्रदान गरिएको यो अवार्डले पोखरा मात्रै होइन, सम्पूर्ण प्रदेशस्तरको खेलकुद अभियन्ताहरुलाई समेत गर्व महसुस गराएको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले कुरा गर्दै भने, “यो सम्मान हाम्रो समर्पण, निरन्तरता र भलिबलप्रतिको प्रतिबद्धताको पहिचान हो। हामीलाई देशभरका संस्थामध्ये चुनेर दिइएको सम्मानले झन ठूलो जिम्मेवारी थपिएको छ। यसले हाम्रो टोलीलाई अझ सशक्त र ऊर्जा दिनेछ।”
अध्यक्ष शर्माका अनुसार टाइगर ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत यसपटक ‘महिला भलिबल प्रशिक्षक उत्कृट अवार्ड २०८०’ को टाइटल पुरस्कारको नगद राशि ५० हजार रुपैयाँ पनि प्रायोजन गरेको हो। उक्त पुरस्कार प्रशिक्षक रुपेश श्रेष्ठ लाई प्रदान गरिएको थियो।
संस्थाका सचिव डिबी नेपालीका अनुसार अवार्डसहित नेपाल भलिबल संघले टाइगर ग्रुपलाई भलिबल, नेट लगायतका आवश्यक खेल सामाग्रीहरू समेत प्रदान गरेको थियो।
भविष्यतर्फ टाइगर ग्रुपको प्रतिबद्धता
गत माघ १२ देखि २० सम्म सम्पन्न पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितापछि अब संस्था छैठौं संस्करणको तयारीमा जुटेको छ।
शर्माले भनी, “नयाँ वर्ष २०८२ सालको बैशाख १ गते टाइगर कपको छैठौं संस्करणको घोषणा गर्ने हाम्रो प्रारम्भिक योजना भए पनि हाल नेपाल भलिबल संघसँग समन्वयका प्रक्रियाहरू अगाडि बढिरहेका छन्। मिति यथासिघ्र सार्वजनिक गरिनेछ।”
खेलकुद मात्र होइन, सामाजिक परिवर्तनका सारथी
टाइगर ग्रुप केवल भलिबलमै सीमित छैन। संस्थाले शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण तथा युवाको नेतृत्व विकासमा पनि महत्वपूर्ण पहलकदमी लिँदै आएको छ। मोफसलमै बसेर राष्ट्रिय स्तरमा प्रतिस्पर्धी कार्यक्रम गराउने टाइगर ग्रुपको प्रयासले ‘स्पोर्ट्स फर चेंज’ को सार्थक उदाहरण प्रस्तुत गरिरहेको छ।