सुचना, समाचार र मनोरन्जन
IVF New Banner

मारमा पोखराको पर्यटन व्यवसाय, लगानी बढ्दो आम्दानी घट्दो

सन् २०१९ मा नेपालमा १२ लाख पर्यटक आएको र अहिले ६ लाखमा झरेको तथ्याङ्कमा उल्लेख छ । सापकोटाले गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा मात्रै ५ खर्ब लगानी भएको बताए । २०७६ माघ पछि कोभिडका कारण गण्डकी प्रदेशको पर्यटन क्षेत्र मारमा परेको अभिव्यक्ति उनको छ । सो समय एकै दिनमा गण्डकी प्रदेशमा १३ करोड ३६ लाखको घाटा पर्यटन क्षेत्रले बेहोर्नुपरेको थियो । पर्यटन व्यवसाय मारमा पर्दा रोजगारी क्षेत्रमा समेत असर पुगेको छ । ४० प्रतिशत भन्दा बढीले जागिर छाडेका छन् । पर्यटन क्षेत्रको असरको बाछिटा अन्य व्यवसायमा समेत परेको छ ।

सन्तोष बस्याल
पोखरा ।

पोखरा पर्यटकिय शहर । पर्यटन क्षेत्रमा यहाँ ठूलो लगानी छ । नीजि क्षेत्रको लगानीका कारण नै यहाँको पर्यटकीय गतिविधि बढेको छ । पोखराका लागि आवश्यक होटल रेष्टुरेण्ट संचालनमा नै छन् । कोभिड अघि चलायमान रहेको पोखराको पर्यटन क्षेत्र त्यसपछि भने धिमा गतिमा अगाडि बढेको भनाई यहाँका व्यवसायीहरुको छ ।

पोखरामा अहिले बाह्य पर्यटकको आगमन न्यून छ । नेपालमा आएका कुल अन्तर्राष्ट्रिय पर्यटकको ४५ प्रतिशत पर्यटक मात्रै पोखरा आउने गरेको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटा बताउँछन् । उनका अनुसार इटली र युरोपमा पर्यटक बढेका छन् । युरोपबाट पहिले जस्तो पर्यटक नेपाल आएका छैनन् । यसको मुख्य कारण भनेकै जहाज भाडा महङ्गो हुनु हो । नेपालमा सिधै हवाई उडान नभएकाले विभिन्न देशमा ट्रान्जिट हुनुपर्ने बाध्यताका कारण पनि नेपालमा अन्तर्राष्ट्रिय पर्यटक नआएको सापकोटाको भनाई छ ।

सन् २०१९ मा नेपालमा १२ लाख पर्यटक आएको र अहिले ६ लाखमा झरेको तथ्याङ्कमा उल्लेख छ । सापकोटाले गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा मात्रै ५ खर्ब लगानी भएको बताए । २०७६ माघ पछि कोभिडका कारण गण्डकी प्रदेशको पर्यटन क्षेत्र मारमा परेको अभिव्यक्ति उनको छ । सो समय एकै दिनमा गण्डकी प्रदेशमा १३ करोड ३६ लाखको घाटा पर्यटन क्षेत्रले बेहोर्नुपरेको थियो । पर्यटन व्यवसाय मारमा पर्दा रोजगारी क्षेत्रमा समेत असर पुगेको छ । ४० प्रतिशत भन्दा बढीले जागिर छाडेका छन् । पर्यटन क्षेत्रको असरको बाछिटा अन्य व्यवसायमा समेत परेको छ ।

खासगरी सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्रमुख प्राथामिकतामा राखिएता पनि बजेट विनियोजन र त्यसको कार्यान्वयन पक्ष फितलो भएको सापकोटा पाउँछन् । पर्यटन व्यवसायलाई जिडीपीमा मात्रै सिमित राख्दा दिनप्रतिदिन समस्या भोग्नुपरेको तर्क उनको छ । पर्यटक नआए अर्थतन्त्रमा नै असर पर्ने हुँदा सरकारले सोच्ने मात्र नभई कार्यान्वयन पक्षलाई नै बढ्वा दिनुपर्ने आवश्यकता रहेको उनले बताएका छन् ।

गण्डकी प्रदेशक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

 

Exchange and test

प्राकृतिक सौन्दर्यता, मौसमको अनुकुलता र सांस्कृतिक पक्ष सबल भएकाले पर्यटक पोखरा आउन चाहन्छन् । गण्डकी प्रदेशमा ट्रेकिङ टुरिजमलाई समेत बढ्वा दिन सकिन्छ । साहसिक पर्यटक आउने संख्या ७० प्रतिशत माथि छ । त्यसैले पर्यटकलाई आवश्यक पर्ने स्रोत साधनको उपलब्धतामा सरकारको नजर पुग्नुपर्ने सापकोटा बताउँछन् ।

मुग्लिन पोखराको सडक निर्माणमा ढिलाई हुँदा पोखरा हुँदै पर्वत, मुस्ताङ, बेनी, बागलुङ जाने पर्यटक बीचबाटै फर्कनुपरेको छ । अमर्यादित प्रतिस्पर्धाले समेत पर्यटकहरुलाई समस्या पारेको सापकोटाको भनाई छ । १९५० देखि नै चर्चामा आएको अन्नपूर्ण क्षेत्रको नयाँ पदमार्ग नखोलिदा समस्या आएको छ ।

सोसल मिडिया पर्यटक भित्र्याउने राम्रो माध्यम हुँदाहुँदै पनि यसको प्रयोग सोचेजस्तो नभएको सापकोटा पाउँछन् । पोखरामा आएका पर्यटक प्राय फेरि आउने गरेको सुखद पक्ष भएको तर्क उनको छ । भारत र चीनको पर्यटकलाई मात्रै तान्न सके पनि नेपालको अर्थतन्त्रको विकासमा टेवा पुग्ने उनले बताए । गण्डकी प्रदेशलाई टुरिजम हेल्थ, एजुकेशन र एग्रीकल्चर सेन्टर बनाउने तवरले लाग्नुपर्ने आवश्यकतालाई सापकोटले औंल्याएका छन् । सरकारको नीति तथा नियम सरल र पर्यटनमैत्री भए पर्यटन क्षेत्रमा फड्को मार्न सकिने भनाई उनको छ ।

उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको पर्यटन व्यवसायीहरुसँग पर्यटकीय सम्भावना, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गराउनका लागि आफुले पटकपटक पहलकदमी गरिरहेको जानकारी गराए । प्रधानमन्त्रीसँगको अहिलेसम्मको भेटमा प्रत्येक पटक आफुले दबाब दिइरहेको उनले बताए । मुख्यमन्त्रीका अनुसार प्रधानमन्त्री चीन भ्रमणमा गएपछि यस विषयमा ग्रीन सिग्नेल आउनेछ ।

मुग्लिन पोखराको सडक निर्माणको कामबाट आफु पनि दिक्क भएको उनले उल्लेख गरेका छन् । यस विषयमा पनि प्रधानमन्त्रीसँग आफ्नो बातचित भएको उनले बताए । प्रदेशको मातहत र अधिकार भित्र नभएकाले यी दुवै विषयमा केन्द्र सरकारलाई झक्झकाउन बाहेक आफुसँग अन्य अरु कुनै विकल्प नरहेको तर्क उनको छ । गण्डकी प्रदेशको पर्यटन क्षेत्रको सुधारमा प्रदेश सरकार कटिबद्ध भएर लागिरहेको भनाई उनको छ ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपी भट्टराई, पर्यटन व्यवसायी महिला संघ (टेवान) की अध्यक्ष कमला गिरी लगायतका पोखराका पर्यटन व्यवसायी, प्रदेश नीति तथा आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.