पोखरा : सामाजिक सेवामा लामो समयदेखि समर्पित लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’ नेपालले पोखरामा पहिलो पटक भव्य अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ।
वैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने उक्त प्रतियोगिता नेपाली खेलकुद क्षेत्रका लागि मात्र नभई, पोखरा जस्तो पर्यटन सहरको पहिचान अन्तर्राष्ट्रिय स्तरमा अझ प्रस्ट्याउने अवसर बन्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
लायन्स इन्टरनेशनलको १०७ औं तथा नेपालमा ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिँदै गरेको प्रतियोगिता ऐतिहासिक बन्ने विश्वास गरिएको हो। डिष्ट्रिक्ट गर्भनर चण्डीप्रसाद अर्यालका अनुसार, प्रतियोगितामा पाकिस्तान भलिबल क्लब इस्लामाबाद, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल संघको सहभागिता निश्चित भइसकेको छ भने, भारत र इरानका टिमसँग अन्तिम चरणको समन्वय भइरहेको छ।
यो प्रतियोगितालाई केवल भलिबल खेलको सीमामा मात्र नराखी, पोखराको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध सुदृढीकरण र खेलकुद विकासमा नयाँ ऊर्जा थप्ने प्रयासको रूपमा रहेको उनले बताए।
‘अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिताले पोखरालाई विश्वस्तरीय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने आयोजकहरूको विश्वास छ’, उनले भने।
प्रतियोगिताको विजेता टोलीलाई ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ, उपविजेतालाई २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ र तेस्रो हुने टोलीलाई १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ नगदसहित शिल्ड, ट्रफी र मेडल प्रदान गरिनेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट लिबेरो, ब्लकर, सर्भरजस्ता विभिन्न विधागत पुरस्कारहरू पनि वितरण गरिने उनले बताए।
लायन्स क्लबको यो प्रयासमा गण्डकी प्रदेश सरकार, खेलकुद विकास समिति, पोखरा महानगरपालिका, व्यवसायिक संघ-संस्था, मिडिया तथा स्थानीय समुदायको समेत सहयोग अपेक्षा गरिएको उनले बताए।