सुचना, समाचार र मनोरन्जन

श्रमिकको हक हितका लागि खबरदारी पुगेनः ट्रेड युनियन नेताहरू

काठमाडौं : जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरूले बताएका छन्। उनीहरूले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमिक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन्। उनीहरूले कतिपय ठूला उद्योगी व्यवसायीहरूले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरू ‘एम्बुस’ बन्दै गएको आरोप लगाए।

१ सय ३६ औं श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले श्रमिकको हकहितका लागि ट्रेड युनियनहरूको खबरदारी नपुगेको बताए। उनले कतिपय ठूला उद्योगी व्यवसायीहरूले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरू ‘एम्बुस’ बन्दै गएको आरोप लगाए। सिम्खडाले श्रमिकहरूको बाँच्न पुग्ने तलवभत्ता नहुँदा श्रमिकहरू विदेशीन बाध्य भएको स्पष्ट पार्नुभयो। उनले श्रमिकको हक हितमा ऐन नियमहरू बनाइरहँदा श्रमिकको जीवनमा उज्यालो आउँछ भन्ने सोच्दासोच्दै श्रम सुरक्षाका नाममा अधिकारहरू साट्न बाध्य हुनुपरेको बताए।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले पनि जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित श्रमिक क्षेत्र भएको बताए। उनले श्रम बजार परिवर्तन भएको र शोषणका रुपहरूसमेत परिवर्तन भएको उल्लेख गर्दै नयाँ श्रमिकहरूमा मजदुर आन्दोलन सशक्त हुन नसकेको भ्रम रहेको बताए। उनले श्रमिकका हकहितमा हासिल गरिएका उपलब्धिहरूलाई व्यवहारमा उतार्न नसकिएको स्वीकार गरे।

अध्यक्ष श्रेष्ठले केही समयअघि दुई सय ४० दिन काम गरेसँगै स्थायी हुनुपर्ने प्रावधान रहेको भए पनि हाल एक घण्टा काम गरे पनि स्थायी सरह सेवा सुविधा दिनुपर्छ भन्ने खालको कानून आइसकेको बताए।  सामाजिक सुरक्षाको व्यवस्था भइसकेको तर सबैतिर लागू नहुँदा समस्या जस्ताको तस्तै देखिएको बताए। कार्यान्वयनमा अरुले बोलिदिए हुन्थ्यो कि भन्ने अवस्थाका कारण श्रमिक वर्गको उत्थानमा समस्या रहेको अध्यक्ष श्रेष्ठले दाबी गरे।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर अनौपचारिक क्षेत्रका श्रमिक, अझ त्यसमा पनि महिला श्रमिक बढी प्रभावित भएको बताए। उनले जलवायु परिवर्तनसँगै श्रमिक क्षेत्र प्रभावित भएको र त्यसमा पनि महिला श्रमिक अझ बढी प्रभावित भएको बताउँदै जलवायु परिवर्तनसँगै कामको संसारमा परिवर्तन आएको बताए।

जलवायु परिवर्तनले यातायात, पर्यटन, कृषि, निर्माणलगायत अधिकांश क्षेत्रमा असर परेको र श्रमजीवीले रोजगारी गुमाउनु परिरहेको र यसमा नेपाल सरकारले जुन रुपमा काम गर्नुपर्ने हो त्यो नगरेको अध्यक्ष कुँवरको भनाई थियो। उनले केही समयअघि आएका बाढी, पहिरो लगायतका कारण खोला किनारामा काम गर्ने श्रमिक महिला बढी मारमा परेको उल्लेख गर्दै परिवर्तित सन्दर्भमा श्रमिकहरूको क्षमता, दक्षता र सीपलाई परिमार्जित गर्ने गरि काम भइरहेको अध्यक्ष कुँवरले दाबी गरे।

उनले पछिल्लो समयमा श्रमिकको हकहितका लागि कुनै काम भएनन् भन्ने अवस्था नरहेको भन्दै श्रमका सन्दर्भमा नीतिगत संरचनाहरू बनेको दावी गरे। तर कार्यान्वयनका सन्दर्भमा जुन रफ्तारमा काम हुनुपर्ने थियो त्यसमा सरकारको संयन्त्रहरूले राम्रोसँग काम नगरिदिँदा कार्यान्वयन हुन नसकेकोले गुनासो बढीरहेको स्पष्ट पारे।

यसैगरी कार्यक्रममा जिफन्ट महिला विभाग अध्यक्ष सीता लामाले महिला श्रमिकको अवस्था धेरै पीडामा रहेको बताइन्। उनले महिला श्रमिक पितृ सत्तात्मक सोच र चिन्तनले ग्रस्त समाजबाट पीडित रहेको बताइन्। साथै उनले जलवायु परिवर्तनले सबैभन्दा बढी पारेको श्रमिक वर्गलाई र त्यसमा पनि महिला श्रमिक धेरै पीडित रहेको दाबी गरिन्। उनले पेशा र कामको प्रकृति फरक—फरक भए पनि महिला श्रमिक कार्यथलोमा समेत शोषित भइरहेको बताइन्।

कार्यक्रममा श्रमिक नेताहरूले दैनिक आठ घण्टा काम, आठ घण्टा आराम भनिए पनि नेपालमा भने व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका थिए।

Leave A Reply

Your email address will not be published.