प्रत्येक वर्ष मे २२ मा मनाइने अन्तर्राष्ट्रिय जैविक विविधता दिवसले पृथ्वीमा रहेका जीवजन्तु, वनस्पति र सम्पूर्ण पारिस्थितिक प्रणालीको संरक्षणप्रति विश्व समुदायको ध्यान केन्द्रित गर्ने काम गर्छ । संयुक्त राष्ट्रसंघले सन् २००० देखि औपचारिक रूपमा मनाउन थालेको यो दिवस सन् १९९२ मे २२ मा भएको जैविक विविधता महासन्धि (Convention on Biological Diversity) को सम्झनामा स्थापना गरिएको हो ।
यस वर्ष अर्थात् सन् २०२६ को मूल नारा “स्थानीय कार्य, विश्वव्यापी प्रभाव” (Acting locally for global impact) तय गरिएको छ । यो नाराले स्थानीय तहमा गरिने संरक्षणका साना प्रयासहरूले समेत विश्वव्यापी जैविक विविधता संरक्षणमा ठूलो प्रभाव पार्न सक्ने सन्देश दिन्छ ।
सन् २०२२ मा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले ‘कुनमिङ–मोन्ट्रियल विश्वव्यापी जैविक विविधता फ्रेमवर्क’ (Kunming-Montreal Global Biodiversity Framework) स्वीकृत गरेका थिए । क्यानडाको मोन्ट्रियलमा सम्पन्न जैविक विविधता सम्मेलन (COP15) मा पारित उक्त फ्रेमवर्कले सन् २०५० सम्म “प्रकृतिसँग मैत्रीपूर्ण विश्व” निर्माण गर्ने लक्ष्य राखेको छ । यसअन्तर्गत जैविक विविधताको संरक्षण, दिगो उपयोग, आनुवंशिक स्रोतको न्यायोचित लाभ बाँडफाँड तथा आर्थिक स्रोत व्यवस्थापन सम्बन्धी चार प्रमुख उद्देश्य र सन् २०३० सम्म पूरा गर्नुपर्ने २३ वटा लक्ष्य निर्धारण गरिएका छन् ।
विश्वको कुल भू–भागको केवल ०.०३ प्रतिशत क्षेत्रफल ओगटेको नेपाल जैविक विविधताको दृष्टिले भने अत्यन्त समृद्ध राष्ट्र मानिन्छ । जैविक विविधताको हिसाबले नेपाल विश्वमा ४९ औँ र एसियामा ११ औँ स्थानमा पर्दछ भने जैविक विविधता घनत्वका आधारमा विश्वमै २५ औँ स्थानमा रहेको छ । नेपालमा विश्वका ज्ञात वनस्पतिको ३.२ प्रतिशत र जीवजन्तुको १.१ प्रतिशत पाइन्छ ।
जैविक विविधताले सांस्कृतिक, धार्मिक तथा आर्थिक महत्व पनि बोकेको छ । पर्यटन, कृषि, वन तथा जडीबुटी व्यवसायले देशको अर्थतन्त्रमा टेवा पुर्याइरहेका छन् । विविध पारिस्थितिक प्रणालीहरूले जलवायु परिवर्तनजस्ता वातावरणीय चुनौती सामना गर्न प्रकृतिलाई अझ लचिलो बनाउँछन् ।
नेपालमा ११८ प्रकारका पारिस्थितिक प्रणाली, २४२ वटा सिमसार क्षेत्र तथा १० वटा रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र रहेका छन् । यहाँ ६ हजार ६ सय ५३ भन्दा बढी फूल फुल्ने वनस्पति, २ हजारभन्दा बढी ढुंसी, १ हजारभन्दा बढी लेउ तथा सयौँ प्रकारका ब्रायोफाइट र टेरिडोफाइट पाइन्छन् । त्यसैगरी २१० स्तनधारी, ८७१ चरा, २२८ माछा, १३७ घस्रने प्राणी, ५३ उभयचर र १२ हजार ९ सयभन्दा बढी कीराका प्रजाति नेपालमा अभिलेख गरिएका छन् ।
नेपाल गुराँस, सुनाखरी तथा बहुमूल्य जडीबुटीका लागि विश्वमै परिचित छ । यहाँ ३० भन्दा बढी प्रजातिका गुराँस र ३ सय ६३ भन्दा बढी सुनाखरीका प्रजाति पाइन्छन् । कृषि जैविक विविधताका दृष्टिले पनि नेपाल धनी मानिन्छ । ५ सयभन्दा बढी खाद्य अन्नबालीमध्ये २०० भन्दा बढी प्रजातिको खेती नेपालमा गरिन्छ । कतिपय बाली तथा जडीबुटी नेपालकै रैथाने प्रजाति हुन् ।
नेपालका धेरै वनस्पति तथा वन्यजन्तु प्रजाति अन्तर्राष्ट्रिय साईटिस (CITES) महासन्धिमा सूचीकृत छन् । CITES ले लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन गर्दछ । नेपालका ७३ स्तनधारी, ११३ चरा, २९ घस्रने प्राणी, २ उभयचर, ३ पुतली र ४१७ वनस्पति प्रजाति साईटिसमा सूचीकृत छन् । यिनको शिकार तथा व्यापार गैरकानुनी मानिन्छ ।
जैविक विविधताले मानव जीवन र पृथ्वीको अस्तित्वलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्छ । खाद्य सुरक्षा, स्वच्छ पानी र हावा, जलवायु सन्तुलन, परागसेचन, प्राकृतिक कीट नियन्त्रण तथा औषधीय स्रोत संरक्षणमा यसको प्रत्यक्ष योगदान रहेको छ । मौरी, चराचुरुङ्गी र अन्य कीराहरूले कृषि उत्पादनमा आवश्यक परागसेचन गर्छन् भने वनजंगलले कार्बन डाइअक्साइड अवशोषण गरी जलवायु सन्तुलन कायम राख्छ ।
जैविक विविधताले सांस्कृतिक, धार्मिक तथा आर्थिक महत्व पनि बोकेको छ । पर्यटन, कृषि, वन तथा जडीबुटी व्यवसायले देशको अर्थतन्त्रमा टेवा पुर्याइरहेका छन् । विविध पारिस्थितिक प्रणालीहरूले जलवायु परिवर्तनजस्ता वातावरणीय चुनौती सामना गर्न प्रकृतिलाई अझ लचिलो बनाउँछन् ।
तर पछिल्ला दशकहरूमा नेपालसहित विश्वभर जैविक विविधता संकटमा पर्दै गएको छ । वन फँडानी, सहरीकरण, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, वासस्थान विनाश, रासायनिक विषादीको अत्यधिक प्रयोग, जलवायु परिवर्तन, मिचाहा प्रजातिको विस्तार तथा अवैध वन्यजन्तु व्यापार जैविक विविधताका प्रमुख खतरा बनेका छन् ।
बढ्दो जनसंख्या र अत्यधिक प्राकृतिक स्रोत उपभोगका कारण पारिस्थितिक प्रणालीमा असन्तुलन बढ्दै गएको छ । रासायनिक प्रदूषण, जीवाश्म इन्धनको प्रयोग तथा औद्योगिक फोहोरले वनस्पति र जीवजन्तुलाई प्रत्यक्ष असर पुर्याइरहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम र वर्षा प्रणालीमा आएको परिवर्तनले धेरै प्रजाति संकटमा परेका छन् ।
यस्ता चुनौतीका बीच अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२६ ले स्थानीय तहबाट संरक्षण अभियानलाई सशक्त बनाउन जोड दिएको छ । स्थानीय जातका बिरुवा रोप्ने, नदी तथा ताल सरसफाइ गर्ने, वन्यजन्तुको बासस्थान जोगाउने, जैविक खेती प्रवर्द्धन गर्ने तथा हरित क्षेत्र विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।
विद्यालयस्तरीय निबन्ध, चित्रकला, वक्तृत्वकला तथा प्रकृति अवलोकन कार्यक्रममार्फत युवा पुस्तामा वातावरणीय चेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ । सामाजिक सञ्जालमार्फत स्थानीय संरक्षण अभियानलाई विश्वसामु प्रस्तुत गर्न सकिने भएकाले डिजिटल अभियानलाई पनि प्रभावकारी माध्यमका रूपमा लिइएको छ ।
भौगोलिक रूपमा सानो भए पनि जैविक विविधताको दृष्टिले नेपाल विश्वमै महत्वपूर्ण राष्ट्र हो । हिमालदेखि तराईसम्मको विविध भूगोल, जलवायु, संस्कृति, संरक्षित क्षेत्र तथा स्थानीय समुदायको मौलिक ज्ञानले नेपाललाई जैविक सम्पदामा धनी बनाएको हो ।
तर यदि अहिले नै संरक्षणमा गम्भीर पहल गरिएन भने रैथाने बाली, वनस्पति, जडीबुटी तथा वन्यजन्तुका धेरै प्रजाति भविष्यमा लोप हुन सक्ने खतरा बढ्दो छ । त्यसैले “स्थानीय कार्य, विश्वव्यापी प्रभाव” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै जैविक विविधता संरक्षणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनु आजको आवश्यकता बनेको छ ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२६ ले दिएको सन्देश स्पष्ट छ — प्रकृतिको संरक्षण नै मानव अस्तित्वको संरक्षण हो ।