सुचना, समाचार र मनोरन्जन

युवाहरूलाई सीपयुक्त बनाउन सहयोग गर्नु आह्वान

काठमाडौँ,

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विभिन्न सीप र ज्ञानबारे युवाहरूलाई प्रशिक्षण गराउँदै दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्न आह्वान गरेका छन् ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आइतबार विभिन्न पेशा र व्यवसायमा आबद्ध संस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले दक्ष युवा जनशक्ति निर्माण गर्नका लागि सहयोग गर्न आह्वान गरेका हुन् ।

युवाहरूलाई रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यसहित मन्त्री चौधरीले मन्त्रालय, व्यावसायिक तालिम तथा प्रशिक्षण केन्द्र, उद्योगी महासङ्घ, बैंकर्स महासङ्घ, होटल सङ्घ नेपाल, साना तथा घरेलु उद्योगी महासङ्घलगायत ३८ वटा सरोकारवाला निकायहरूसँग मन्त्री चौधरीले छलफल गरेका थिए ।

सो अवसरमा मन्त्री चौधरीले युवाहरूमा सीपको विकास गर्दै दक्ष युवा जनशक्ति निर्माणमा सहयोग पुर्‍याउन ती सरोकारावाहरूलाई आह्वान गरे ।सैद्धान्तिकसँगै प्रयोगात्मक प्रशिक्षणमार्फत युवाहरू सीप सिक्दा रोजगारीका अवसर पनि बढ्ने आशा व्यक्त गरेका छन् ।

आ–आफ्ना विषय र सीपबारे युवाहरूलाई सिकाएको खण्डमा मन्त्रालयले आर्थिक सहयोग गर्ने उनले बताए ।मन्त्री चौधरीले युवा स्वरोजगार कोषमा रहेको रकम युवाहरूलाई व्यवसाय गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।

कोही युवाहरू व्यवसाय गर्न चाहेको खण्डमा आफैँ पनि बिना ब्याज सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री चौधरीले सरोकारवाला निकायहरूलाई सल्लाह सुझावसँगै युवाहरूलाई प्रोत्साहित र सीपयुक्त बनाउनका लागि मध्यस्थकर्ताको भूमिका खेल्न पनि आह्वान गरे ।

Leave A Reply

Your email address will not be published.