सुचना, समाचार र मनोरन्जन
Sarangi

भारततर्फको खुला सीमा नेपालको प्रमुख सुरक्षा चुनौती: सेना

काठमाडौँ/

सीमा सुरक्षा देशको मुख्य सुरक्षा चुनौती रहेको साथै छिमेकी मुलुकमा हुने आतंकवादी गतिविधिको असर नेपालसम्म आइपुग्नसक्नेमा नेपाली सेना सजग रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाको आइतबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाको युद्धकार्य निर्देशनालयका सहायक रथी प्रकाश देउजाले पत्रकारको सेनाको मुख्य चुनौती के छ भन्ने प्रश्नमा नेपालमा देखिएको मुख्य चुनौती खुला सीमा रहेको बताए।

नेपालमा अहिलेसम्म त्यति समस्या नदेखिए पनि छिमेकी मुलुकमा भइरहेको आतंकवादी गतिविधिको प्रभाव देखिन सक्ने र त्यसको लागि आफूहरु सजग रहेको उनले बताए ।

‘छिमेकी मुलुकहरुमा आतंकवादी गतिविधि भइरहेका छन्, कतै न कतै त्यसको असर पर्न हामीमा पर्न नसक्ने होइनरु अहिले यो हाम्रो मुलुकको एउटा सुरक्षा चुनौती हो, आतंकवादी गतिविधि बढ्न सक्छ कि भनेर हामी सचेत र सजग छौं,’ उनले भने।

निर्देशनालयका सहायक रथी देउजाले उत्तरतिर सीमा नियन्त्रित भएपनि दक्षिणमा खुला हुँदा राष्ट्रिय सुरक्षामा चुनौती रहेको बताए ।

खुला सीमाले क्रसबोर्डर संगठित अपराधको चुनौती बढाएको तथा अवैध व्यापार, लागूऔषध, हतियार तस्करी र मानवबेचबिखन लगायतका चुनौती रहेको उनले बताए।

‘सीमापारि संगठित अपराधलाई नियन्त्रण गर्न सीमामा कडाइ गर्नुपर्छ । अन्य सुरक्षा निकायसहित संयुक्त रुपमा यस विषयमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ । अहिले साइबर सुरक्षा पनि एउटा गम्भीर चुनौतीका रुपमा देखा परेको छ,’ उनले भने।

सुन तस्करी जस्तो संगठित घटनालाई सेनाले कसरी हेरेको छ भन्ने प्रश्नमा त्यस्ता खले विषयहरुलाई सेनाले नियालिरहे पनि अनुसन्धान भइरहेको विषय भएकाले आफूहरुको छुट्टै धारणा भने नरहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।

Leave A Reply

Your email address will not be published.