काठमाडौँ/
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
‘अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन म सहमत छु । हामी सरकामा पनि सल्लाह गर्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थमन्त्रालय, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालयबाट सहभागी हुनेगरी यस्तो संयन्त्रको खाँचो छ ।’
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधारका लागि मेजर अप्रेसन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । सरकारले आगामी वर्षको नीति निर्माणमा छलफल सुरु गरेको भन्दै निजी क्षेत्रले सुरु गरेको बहसले थप मद्दत मिल्ने बताए ।
‘टालटुले तरिकाले अर्थतन्त्रको सुधार हुँदैन । रेडिकल र बोल्ड निर्णय गर्नुपर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘वित्तीय र मौद्रिक नीतिमा तालमेल गर्न सरकारले केही न केही सुधार भएको छ । तर, मूल सुधार बाँकी छ ।’