काठमाडौँ :
नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले अमेरिकाका विभिन्न सहर हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको जानकारी गराएका थिए । अधिकारीका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ । कार्यक्रममा बोल्दै अधिकारीले अमेरिकामा रहेका नेपालीलाई कार्यक्रममार्फत् मनोरञ्जन गराउनेसँगै सिपसहित नेपाल फर्कन आह्वान गर्ने उद्देश्य रहेको पनि जानकारी गराए ।
कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका विनोद अधिकारीले अगाडि भने, ‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ ।’
यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल,मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला,सन्तोष थापा सहभागी हुनेछन् । पत्रकार भेटघाटमा बोल्दै कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र विभिन्न अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा विशेष रहेको बताए ।
‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ । तर हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत पनि छौँ,’ उनको भनाइ थियो ।
उनले एक समय अमेरिका यात्राकै क्रममा के गर्छस् भनेर सोधिँदा स्ट्यान्ड अप कमेडियन हुँ भन्दा उनीहरुले दिएको सम्मानले यो पेशाप्रति नै गर्व लागेको पनि अनुभव सुनाएका थिए ।
‘अमेरिकाले मलाई हरेक यात्रामा केही न केही दिएको छ । यो पटक पनि केही न केही लिएर आउने अपेक्षामा छु,’उनले भने ।
कार्यक्रममा बोल्दै भरतमणि पौडेलले महजोडीपछि हास्य कलाकारको टोली मात्र यति लामो भ्रमणमा निस्कन लागेको बताउँदै परम्पराको निर्वाहसँगै नयाँ दर्शकसँग भेट्न पाउने उत्साह रहेको जनाएका थिए ।
कार्यक्रममा अमेरिकामा भ्रमणमा रहेका बाँकी सहभागीले पनि आआफ्ना अनुभव सुनाएका थिए । भ्रमणका दौरानमा उनीहरुले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घन्टाको रहने जनाएका थिए ।एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन,न्युयोर्क,बोस्टन,न्युहेम्पसायर,कोलराडो,सिकागो,मिसिगन,ह्युस्टन,डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स,, सानफ्रान्सिस्को आदि ठाउँका कार्यक्रम तय भइसकेको र बाँकी सहरका लागि पनि सम्झौताको क्रम जारी रहेको कार्यक्रममा जानकारी गराइयो ।