सुचना, समाचार र मनोरन्जन

दयाहाङ र अर्पण बने दुस्मन, मिरुनाको फरक अवतार

काठमाडौँ :

अभिनेता दयाहाङ राई, अर्पण थापा र मिरुना मगरको फरक भुमिका रहेको फिल्म ‘रंगेली’ इन्ट्रो टिजर रिलिज भएको छ। सोमबार निर्माण टिमले रिलिज गरेको टिजरमा अरु भन्दा फरक अवतारमा प्रस्तुत गरिएको छ।

फिल्मको सार तथा पात्र परिचय बुझाउने यस टिजरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई दुश्मनको रूपमा चित्रण गरिएको छ । अभिनेत्री मिरुनालाई शान्त स्वभावमा थारु युवतीको रूपमा देखाईएको छ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने यस फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । सुवेदी नै यसका लेखक हुन् । ‘रङ्गेली’मा अर्पण, दयाहाङ, मिरुना सहित प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।

यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो फिल्म नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ । जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।

Leave A Reply

Your email address will not be published.