सुचना, समाचार र मनोरन्जन

दयाहाङ अमेरिका जाँदा पनि रोकिएन ‘मनसरा’को सुटिङ,यसरी मिलाइदैछ सेड्युल

काठमाडौं :

दयाहाङ राई तथा मिरुना मगर स्टारर फिल्म ‘मनसरा’को धमाधम सुटिङ भइरहेको छ। ६५ प्रतिशत छायांकन सकिएको यो फिल्मको बाँकी सुटिङ ललितपुरको नख्खीपोट आसपासमा खिच्ने काम भइरहेको छ।

फिल्मका अभिनेता दयाहाङ ‘भूठान’को छायांकनका लागि हाल अमेरिका पुगिसकेका छन्। उनी अमेरिकामा फिल्मको १० दिनको सुटिङ सकेर नेपाल फर्किएपछि बाँकी उनको पार्ट थालिनेछ। उनी अमेरिका पुगेको अवस्थामा यहाँ रहेको कलाकार मिरुना, मेनुका प्रधान तथा प्रविण खतिवडाका दृश्यहरुको छायांकन धमाधम चलिरहेको छ ।

निर्देशक उपेन्द्र सुब्बाका अनुसार दयाहाङ फिल्मको बाँकी छायांकनका लागि २०–२२ गतेसम्ममा नेपाल फर्किनेछन् । उनी नेपाल आएपछि फिल्मको केहि भाग ललितपुरमा खिचेर पाँचथर जानेछन् । यस वर्षको ब्लकबस्टर फिल्म ‘जारी’ निर्देशन गरिसकेका उपेन्द्र सुब्बा यो दोस्रो निर्देशकिय फिल्म हो। उनी कबि हुँदै सिनेमा लेखनबाट निर्देशनमा होमिएका हुन्।

यो फिल्म निर्देशक सुब्बाले फिल्मका छायाँकार शैलेन्द्र ध्वज कार्कीसँग मिलेर निर्माण गरिरहेका छन्। छायाँकार कार्कीले फिल्मको हाल योजना अनुसारको काम भइरहेको बताए । उनले दयाहाङ नेपाल फर्किएपछि ७–१० दिनमा फिल्मको छायांकन सम्पन्न हुने जानकारी दिए ।
यसैगरी निर्देशक सुब्बाले जाडोको मौसम भएपनि फिल्मको छायांकन सोच अनुसार भैइरहेको बताए । उनले सिनेमालाई उत्कृष्ट बन्ने बताउँदै त्यसका लागि कुनै कसर नराखिने धारणा व्यक्त गरे । सिनेमालाई एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

वैशाख २१ मा रिलिज हुने यस फिल्मकोे थिएटर पार्टनर क्यूएफएक्स रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो । निर्देशक सुब्बाकै लेखन रहेको फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।

सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

Leave A Reply

Your email address will not be published.