पोखरा /
पोखरामा रहेका पशुप्रेमीहरूको समूह (एनिमल लभर्स ग्रुप पोखरा) ले सडकमा रहेका पशुपंक्षीरूलाई पानी खान सहज होस् भन्ने उद्धेश्यले पोखराका दस ठाउँमा सिमेन्टका भाँडाहरू राखेर पानीको व्यवस्था गरेका छन् ।
गर्मी मौसम तथा खडेरीका कारण कतिपय स्थानहरूमा पशुपंक्षीहरू तडपी रहेको समाचार आईरहेका बेला सडकमा रहेका पशुपंक्षीहरूलाई पानीको अभाव नहोस भन्ने उद्देश्यले पशु प्रेमी समूहमा आवद्ध सदस्यहरूले व्यक्तिगत रूपमा थोरैथोरै रकम सङ्कलन गरी पानी राख्ने भाँडाको व्यवस्था गरिएको जानकारी समूहकी सदस्य बिना बज्राचार्यले जानकारी गराइन् ।
पोखराका विभिन्न दस स्थानमध्ये आठ स्थानमा मङ्गलबार भाँडा राखिएका छन, भने दुई स्थानमा बुधबार राखिएको छ । भाँडाको रेखदेख तथा भाँडामा पानीको व्यवस्थापनका लागि पशुप्रेमी समूहका सदस्यहरूले स्थानीय बासिन्दा तथा व्यवसायीहरूसँग समन्वय गरी जिम्मेवारी दिइएको जानकारी पशुप्रेमी देव उपाध्यायले बताए ।
अहिले बजेट अभावका कारण अत्यावश्यक स्थानमा दसवटा भाँडा राखिएको छ । आगामी दिनमा रकम सङ्कलन भएमा फेरि थप भाँडा बनाउने र आवश्यक स्थानमा राख्ने कुरा एनिमल लभर्स ग्रुपकी अञ्जनी गुरूङले बताइन ।
पानी व्यवस्थापन तथा भाँडाको रेखदेखका निम्ति विभिन्न स्थानमा समन्वय गर्नका लागि सदस्यहरूलाई जिम्मेवारी दिइएको छ । तालचोकमा पवन र इभा, बुद्धचोक, पृथ्वीचोक,चिप्लेढुंगामा बिना बज्राचार्य, बिरौटाचोकमा लिलाधर पौडेल र लक्ष्मी पुन, हल्लनचेकमा झरना नेपाल र चरेबरचोकका लागि जुनु राना, राष्ट्रबैंकचोकमा अञ्जनी गुरुङले समन्य गर्ने जनाइएको छ ।