काठमाडौं :
अभिनेता पुष्प खड्काले ‘लभर गर्ल’को छवि बनाएकी अभिनेत्री पूजा शर्मालाई हिम्मतवाली भनेका छन्। प्रदर्शनरत फिल्म ‘दान्भी’मा पहिलोपटक एक्सन भूमिकामा काम गरेकी पूजालाई उनले हिम्मतवाली भनेका छन्।
आइतबार काठमाडौंमा आयोजित विशेष शोमा पुगेका अभिनेता खड्काले रेखा पछि पूजालाई ‘अर्की हिम्मतवाली’को संज्ञा दिएका हुन्।
निकै उत्साहित देखिएका पुष्पले भने भने,‘यसको बलियो पक्ष भनेको नै एक्सन हो । रेखा थापा दिदीपछि एक्सनमा यति मज्जाले जमेको पूजा नै हो । उसको ‘एग्रेसिभ लुक’ एकदमै राम्रो देखिएको छ ।’
पूजाको यो फिल्म हेर्नेमा सबैभन्दा धेरै पटक निर्देशक शोभित बस्नेत रहेका छन्। उनले मात्रै यो फिल्म तीनपटक हेरिसकेका छन्। सेलिब्रेटी शोमा भेटिएका शोभितले आफु पूजाको एक्सनबाट ‘सरप्राइज’ भएको दाबी गरिएका थिए।
उनले पूजाको प्रसंसा गर्दै भने,‘पूजालाई ‘सलुट’ नै गर्न मन लाग्यो। मलाई उसले यो हिसाबमा एक्सन गर्ला जस्तो लागेको थिएन। एक्सन मनपराउने दर्शकहरुले अवश्य ‘दान्भी’ हेर्नुहोला । फिल्म एकदमै राम्रो छ।’
अभिनेत्री शर्मा भने अरुको प्रसंसा सुनेर निकै उत्साहित देखिन्थन्। आफ्नो एक्सनको तारिफ भएपछि उनले भनिन्,‘एक्सनमा यो मेरो पहिलो प्रयास थियो । र, दर्शकहरुले जसरी मनपराइदिनु भएको छ, त्यसले हामीले गरेको काम सफल भएको अनुभूति गरेको छु।’
फिल्म ‘दान्भी’ले अपेक्षाकृत व्यापार गर्न सकेको छैन। प्रदर्शनको दुई दिन शुक्रबार र शनिबार ठिकै चलेको फिल्म आइतबारबाट सोचे अनुसारको व्यापार हुन सकेको छैन।