सुचना, समाचार र मनोरन्जन

सुरक्षाको ‘बुलाकी’साउनमै प्रदर्शन

काठमाडौं :

फिल्म ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले यो फिल्मलाई आगामी साउन ३२ गतेबाट दर्शकमाझ ल्याउने निर्णय गरेको हो।

देश तथा विदेशमा सम्पन्न विभिन्न फिल्म महोत्सव तथा अवार्ड कार्यक्रममा उत्कृष्ट कहलिएको यो फिल्म गतवर्षको वैशाख १ गते प्रदर्शन भएको थियो। त्यतिबेलाको परिस्थिती अवस्था राम्रो नभएको भन्दै निर्माण टिमले दुई दिनमै फिल्मको प्रदर्शन रोकिएको थियो। निर्माण टिमले फिल्मलाई पुनः प्रदर्शनमा ल्याउने निर्णयमा पुगेको प्रस्तुतकर्ता विराज विष्टले बताए।

कलाकार समेत रहेका विष्टले फिल्मको प्रदर्शनतय गर्दै देश विदेशका विभिन्न चलचित्र महोत्सव, अवार्ड कार्यक्रममा हाम्रो चलचित्रले कथा, पटकथा, निर्देशन, छायांकन, अभिनय लगायतका विभिन्न विधामा अब्बल उपस्थिति जनाउँदै फिल्म सर्वोत्कृष्ट चुनिन सफल रहेको उल्लेख गरेका छन्।

उनले भने,‘देश विदेशमा रहनुभएका नेपाली फिल्मका शुभचिन्तकहरूले दिनु भएको प्रेम र स्नेहलाई ग्रहण गर्दै यो बीचमा फिल्मप्रति दर्शकले देखाउनु भएको चासोलाई मध्यनजर गरेर चलचित्र ’बुलाकी’लाई पुनः प्रदर्शनमा ल्याउने निर्णयमा पुगेका छौं।’

उनका अनुसार फिल्मलाई पुनः सम्पादनसहित यो बीचमा देखिएका कमी कमजोरीलाई थप सुधार गर्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको हो। उनले थपे,‘कसैको पनि एकल प्रयासले कुनै पनि योजना र यात्रा गन्तव्यमा पुग्न सक्दैन । नेपाली रजतपटमा बामे सर्दै गरेको हाम्रो टिम यो बीचका केहि निराशा र आवेगलाई उत्साहमा रुपान्तरण गर्दै पुनः एकपटक यहाँहरू सबैसँग हातेमालो गर्न आएका छौं । नेपाली समाजको दूरदराजको यथार्थतालाई पर्दामा ल्याउँदा यहाँ सबैको साथ सहयोग, सद्भाव र हौसलाको प्रतीक्षा संधै रहनेछ ।’

स्व. मोती विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा बनेको ’बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। यो फिल्ममा शिव ढकालको छायांकन र अर्जुन जिसीसँगै निर्देशन सुनारको सम्पादन छ । फिल्मको कथा तथा पटकथा राजबहादुर सानेको हो ।

यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत अभिनयमा छन् । अभिनेत्री पन्तले सामाजिक सञ्जालमा पोष्ट लेख्दै नहेर्नु भएका र यसअघि हेर्न छुटाउनु भएकाहरुले नजिकको फिल्म हलमा गएर फिल्म हेर्न सक्ने उल्लेख गरेकी छिन् । यो फिल्मलाई उपत्यकामा रीच इन्टरमेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।

Leave A Reply

Your email address will not be published.