सुचना, समाचार र मनोरन्जन

नाजिरले बाल्यकाल सम्झिदै सुनाए कहाली लाग्दो घटना

काठमाडौं :

फरक फरक भुमिकामा आफुलाई ढाल्न सक्ने अभिनेता हुन् नाजिर हुसेन। उनले अभिनय गरेका फिल्म‘होस्टेल रिटर्न्सु, ‘गाँठो’ ‘जंगे,’ ‘पुन्टे परेड’,‘वीर विक्रम’, ‘तिमी सङ्ग’ लगायत दर्जनौ फिल्म रहेका छन्। पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘अगत्स्य’हो।

एकपछि अर्को सफल फिल्ममा अभिनय गरेका नाजिर अभिनित फिल्म ‘देवी’ यहि भदौ २१ प्रदर्शनमा आउँदैछ। यतिबेला नाजिर फिल्म ‘देवी’को प्रचारप्रसारमा लागेका छन्। बलात्कारका घटना र त्यसले पाउने न्यायका विषय उठान गरिएको यो फिल्ममा उनले आकाश पात्रको भुमिका निवार्ह गरेका छन्।

उनले पत्रकारसँगको भेटघाट कार्यक्रममा आफ्नो फिल्ममा रहेको चरित्रका बारेमा समेत खुलाएका छन्। ‘फिल्ममा चरित्रकोबारेमा भन्नु पर्दा आकाशको भुमिकामा रहेको छु,’उनले भने।
बारा जिल्लामा जन्मिएका नाजिरलाई हिमाली,पहाडी क्षेत्रमा भन्दा तराईमा किन बढि हिंसा हुन्छ भन्ने प्रश्नमा उनी अलिक भावुक बने।
‘तराईको कुरा गर्दाखेरि मैले भोग्दा,म हुर्किदै जाँदाखेरि चाहीँ मैले ठ्याक्कै भोग्न त पाइनँ। तर हामी सानो हुँदाखेरि भने सुनिन्थ्यो,’उनले भने,‘पञ्चायत हुने,मुखिया हुने,हाम्रो गाउँमा पनि हुनुहुन्थ्यो। त्यो हिसावले चाही शक्ती नभएको मान्छेहरुलाई उहाँहरुले जे मन लागे पनि गर्नुहुन्थ्यो।’

उनले बाल्यकालमा आफ्नै छिमेकीमा घटेको घटना सुनाउँदै भने खेतीपाती गर्नका लागि मन लागे दिने,नलागे नदिने तराईमा त्यो हैकमबाद रहेको बताए।

‘पावरको खेल एकदमै हुन्थ्यो। उहाँहरुको छोराहरुले जे गरेर आए पनि सहि नै हुन्थ्यो तर अरुको छोराले गर्यो भने चाही गलत,’उनले भावुक हुँदै भने,‘त्यतिधेरै भोगिन मैले तर सुन्नमा आए।’

उनले आफ्नै घरमा पनि आर्थिक रुपमा सम्पन्न र मुखियाका मान्छेहरु आएर यसका घरमा छोरी छ बाहिर निकाल बलात्कार गर्नुपर्यो भनेको कुरालाई सम्झिएका छन्।

उनले भने,‘मेरो घरमा दिदी हुनुहुन्थ्यो। म त्यहि सात आठ वर्षको थिए होला। अलिक गाउँघरमा झैँ झगडा हुँदा तराईको गाउँमा त्यहि हो,लौरो ठण्डा बोकेर आउनुभएको थियो। अर्को गाउँको मुखियाहरु आएका थिए। त्यो बेला के भएको थियो भन्ने कुरा सोध्न अहिले पनि मलाई आँट आएको छैन। पावरफुल टिमका मान्छेहरु आएर चाही यसका घरमा छोरी छ निकाल,त्यसलाई बलात्कार गर्नुपर्यो। अनि मात्र यसको बाउआमाले चाल पाउँछ भन्दाखेरि चाहीँ यो फिल्ममा काम गरिरहँदा र यस्ता घटना आइरहँदा जहिले पनि मलाई गाह्रो बनाउँछ।’

नाजिरले आफ्ना कुरा राख्दै गर्दा उनी भकानिए। बोल्नै सकेनन्। फिल्म ‘देवी’बलात्कार र त्यसपछिको परिणामको कथालाई प्रस्तुत गरिएको फिल्म हो। फिल्मकी निर्मात्री शिल्पा मास्केले यो फिल्मको कथाले आफुलाई तानेको र निर्मला पन्तको नै कथा नभएको बताइन्। त्यस्ता हरेक पात्रको यो फिल्म भएको सुनाईन्।

Leave A Reply

Your email address will not be published.