इटहरी : पहिलो ‘मिसेस पुर्बेली आईकन २०२४’ को ताज इटहरीकी रेनुका श्रेष्ठले हात पारेकी छन्। इटहरीको लायन्स क्लबमा सम्पन्न भएको ग्राण्ड फिनालेबाट उनले बिजेताको उपाधि हात पारेकी हुन्।
उनले ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँका साथै अन्य पुरस्कारहरू प्राप्त गर्न सफल भइन्। ग्राण्ड फिनालेको प्रमुख अतिथीको रुपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ उपस्थित थिइन्।
प्रमुख अतिथी मिना श्रेष्ठले बिजेता श्रेष्ठलाई ताज लगाइदिएकी थिइन्। साथै उनले पब्लिक च्वाईस अवार्ड समेत हात पारिन् । यस्तै झापाकी मुना बजगाई फर्स्ट रनरअप बन्न सफल भइन्। उनले मिसेस इन्टेलेक्च्युअलको सबटाईटल समेत जितिन् भने धनकुटाकी दिपिका भट्टराई सेकेन्ड रनरअप बन्न सफल भईन्। उनले मिसेस पर्सनालिटीको सबटाईटल हात पारिन्।
यस्तै सुनसरी सदरमुकाम इनरुवाकी रुबिना श्रेष्ठले अर्गनाईजर च्वाइस अवार्ड जित्न सफल भईन्। उनले ट्रफी, क्राउनसहित इटहरीको फुडसालाबाट १० हजार रुपैयाँको फुड भौचर जितिन् भने उनले ब्युटी विथ अ पर्पस र मिसेस फ्रेन्डसिपको सबटाईटल समेत हात पारिन् । यसैगरी सुस्मा बिस्टले मिसेस फोटोजेनिकको सबटाईटल जितिन् भने सुनिता पुरीले मिसेस ट्यालेन्ट र बेस्ट वाल्कको उपाधि प्राप्त गरिन्।
ग्राण्ड फिनालेबाट जिकिसा सापकोटाले मिसेस कन्फिडेन्ट र रेस्मा लिम्बुले मिसेस ग्लामरको सबटाईटल जितिन्। प्रतियोगिताको निर्णायक मण्डलमा जय राज रोय, मेरिना लिम्बू, कन्चन झा र नभनित राज प्रधान थिए। ग्राण्ड फिनाले कार्यक्रमको संचालन सजिना श्रेष्ठले गरेकी थिइन्।