काठमाडौं/
विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँच आयोजनाको तयारी ‘फास्ट ट्र्याक’ मा गरिने भएको छ ।
अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्वपश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधार आयोजना पूर्वतयारी छिटो सक्ने निर्णय गरेको हो ।
यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशीलताका लागि डिजिटल सेवा रूपान्तरण सम्बन्धी आयोजना तयारी पनि फास्ट ट्र्याकमा गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।
विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्वतयारी गर्नेछन् भने आवश्यकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्ने भएको छ ।
बैठकले सन् २०२५ फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषय टुंगो लगाइ पूर्वतयारीका काम सक्ने निर्णय भएको छ । तयारी पूरा भएपछि २०२५ मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेस गरिने योजना छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजना पूर्वतयारीमा विशेष ध्यान दिन र आयोजना स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकता साथ लाग्न निर्देशन दिए ।
नेपालले आफ्नो आवश्यकता अनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने उनले बताए ।
बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारी उपस्थित थिए ।