काठमाडौं :
शुक्रबारबाट फिल्म ‘ह्रस्वदीर्घ’ दोस्रो हप्तामा प्रवेश गरेको छ। पहिलो साता जतिकै शो पाएको यो फिल्मले अधिकांश हलमा हाउसफुल व्यापार गरिरहेको छ। त्यसैले यो फिल्मले आफ्नो लगानी सुरक्षित गरेको निर्माण पक्षले जानकारी दिएका छन्।
६ करोड लगानीमा निर्मााण भएको यो फिल्मले नेपालमा एक सातामा ६ करोडभन्दा बढिको व्यापार गरिसकेको छ। विदेशमा समेत राम्रै रकममा बिक्री भएको यो फिल्मले लगानी सुरक्षित गरिसकेको निर्माता तथा अभिनेत्री नीता ढुङ्गानाले दाबी गरेकी छन्।
पहिलो हप्तामा ५ करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको यो फिल्मले विदेशमा बेच्दा सुरक्षित देखिन्छ। अब आजको व्यापार कस्तो हुन्छ त्यो भने बेलुका नै थाहा होला। ६ करोडको लागतमा निर्माण भएको यो फिल्मलाई सुरुवाती चरणमा निकै कठिन हुने देखिएको थियो। तर नीताले आफ्नो बलबुताले भ्याएसम्म प्रचार गरेकै कारण फिल्मले आफ्नो लगानी उठाएको हो। उनको उनको भनाई सापटी लिने हो भने दोस्रो साताबाट फिल्म नाफामा चल्दैछ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भारतमा ओटीटी प्लेटफर्ममा फिल्म विक्री गरिएको जानकारी दिएकी छन् । उनी लेख्छिन्,‘केही ठाउँमा हामी बक्स अफिस गर्दैछौं भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ । र, पूर्णरुपमा हामी सेभ भइसकेका छौँ।’
महँगा कलाकारका साथ फिल्म निर्माणमा होमिएका नीता र हरिहर अधिकारीले एक उल्लेखिय काम गरेका छन्। भारतका चर्चित कलाकारका साथमा नेपालका कलाकार मिसाएर फिल्म बनाउनु चानचुने कुरा थिएन। तर उनीहरुको त्यो हिम्मत र साहसलाई भने अधिकांशले कदर गरेकै देखिन्छ।उनले नयाँ फिल्म मेकरहरुको खुट्टा तान्ने प्रवृति रहेको भन्दै दुखेसो पोखेकी छन्।
उनी लेख्छिन्,‘जति नै मान्छेले खुट्टा तान्ने कोसिस गरे पनि, जति नै अगाडि बढ्न नदिए पनि, मेरो दर्शकहरूले हामीलाई हात समातेर अगाडि बढाइदिनुभयो, हामीलाई भेट्दाखेरि अँगालो मारेर रुने, नानी तिमीलाई धेरै नराम्रो गरिरहेको छन् मान्छेले, किन यस्तो गरिरहेको छन् भनेर मनमा भएको कुरा भन्ने, बुढाबुढी आमाबुवा भेटेँ, भाइबहिनीहरू भेटेँ, हाम्रो चलचित्रको लागि रुने, मेरो लागि रुने, मैले भगवान् जस्तो दर्शक कहाँ भेटुँला र ?’
चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्ममा नेपाल र भारतका ठुलो कलाकारहरुको टिमले अभिनय गरेका छन्। भारतका प्रदीप रावत,ब्रमानन्दमदेखि नेपालका रेखा थापा,विपना थापा,सरोज खनालसम्मले अभिनय गरेका छन्। फिल्मका अधिकांश गीतहरु चर्चामा रहेका छन्। फिल्मलाई नीता र हरिहरले मिलेर निर्माण गरेका हुन्। हरिहरको यो दोस्रो फिल्म हो। यसअघि उनले ‘शुभलभ’भन्ने फिल्ममा काम गरेका थिए। जुन व्यापारका हिसावले कमजोर भएको थियो। तर हरिहरलाई अभिनयमा निखार्न सहयोग पुगेको थियो। यो फिल्मपछि उनको दोस्रो फिल्ममा अभिनय बबाल निखारिएको हेर्न सकिन्छ।
फोटो : सुरेन्द्र थापा