सुचना, समाचार र मनोरन्जन

‘बुलबुले’ ताल पर्यटकको रोजाइ बन्दै

चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले । यो ताल पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ भने वीरेन्द्रनगर नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत पनि बनेको छ ।

पहिलोपटक कर्णालीको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा आउने जोकोही पनि बुलबुले ताल हेर्न जाने गर्छन् । एकपटक गएपछि फेरि पनि घुम्न मन लाग्ने बुलबुले उद्यान क्षेत्र पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइ बनेको छ । समुद्री सतहबाट करिब छ सय ५७ मिटरको उचाइमा अवस्थित बुलबुले तालमा मोटरेबल समेत सञ्चालनमा आएपछि झनै पर्यटकको रोजाइ बनेको हो । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइएको छ भने चारैतिर घुम्न र हेर्नलायक बन्दै छ । तालमा अहिले मोटरबोट शयर गर्नसमेत सकिन्छ ।

बाह्र हजार वर्गमिटर क्षेत्रफलमा रहेको उक्त तालको क्षेत्र बढाएर २८ हजार पाँच सय वर्गमिटर बनाइएको छ । अहिले यही तालमा दुईवटा मोटरबोट सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटक बढ्न थालेका हुन् । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले पनि पर्छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्छन् । दैनिक पाँच सयभन्दा बढी पर्यटकले बुलबुलेको अवलोकन गर्ने बताइएको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो ।

Leave A Reply

Your email address will not be published.