काठमाडौं/
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा प्रक्रिया सम्बन्धी मार्गदर्शन जारी गरेको छ ।
अर्थ मन्त्रालयले विभिन्न ८ बुँदामा बजेट तर्जुमा मार्गदर्शन जारी गरेको हो । जसमा सीमाभित्र रही बजेट प्रस्ताव गर्ने, नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव, वैदेशिक सहायता आयोजना, बहुवर्षीय र सिर्जित दायित्व व्यवस्थापन, राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता, अन्तर सरकारी वित्तीय हस्तान्तरण, मितव्ययिता कायम गर्ने र बजेट तर्जुमाका मार्गदर्शक आधार पालना छन् ।
यो मार्गदर्शन बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ८ ९१० अनुसार जारी गरिएको अर्थले जनाएको छ ।
स्रोत व्यवस्थापनमा परेको दबाब तथा सार्वजनिक खर्चको उपलब्धि बढाइ आर्थिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकता समेत दृष्टिगत गरी आयोजना तथा कार्यक्रम प्राथमिकीकरण गर्नुपर्ने अवस्था रहेकाले मार्गदर्शनमा उल्लेखित विषय गम्भीरतापूर्वक ध्यान दिन अर्थले आग्रह गरिएको छ ।
आगामी आवको बजेट तर्जुमालाई यथार्थपरक कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन खर्चको दक्षता अभिवृद्धि हुने गरी क्रियाकलाप निर्धारण गरी आफ्नो मन्त्रालय वा अन्तर्गतका आयोजना तथा कार्यक्रम आगामी १५ चैतभित्र मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गरिसक्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।