काठमाडौं :
एक दशक अघि ‘एक्सन स्टार’को रुपमा स्थापित भइसकेका अभिनेता निखिल उप्रेती ६ वर्षपछि फिल्म अभिनयमा फर्किने तयारीमा छन्। उनले चलचित्र विकास बोर्डमा फिल्म ‘आचार्य’दर्ता गराउदै पुन फिल्ममा फर्कन लागेको संकेत दिएका छन्।
यसको फिल्मको निर्देशन उनी आफैंले गर्नेछन्। उनले फिल्म ‘भैरव’ (२०१५)पछि उनले दोस्रो पटक फिल्म निर्देशन गर्न लागेका हुन्। निखिलले बोर्डमा फिल्म दर्ता गर्दा कलाकारमा आफूसहित श्रीमतीको नाम सञ्चिता लुइँटेल राखेका छन्। यो फिल्ममा निखिल र सञ्चिताको जोडी बाँधिने बुझ्न सकिएको छ। विवाहअघि उनीहरुले ‘दाग’, ‘माया त माया हो’, ‘विजयपथ’, ‘सम्झना’ लगायत फिल्ममा निखिल र सञ्चिताले एकसाथ काम गरेका थिए। निखिलले पछिल्लो पटक ‘भिलेन’ (२०१९) मा अभिनय गरेका थिए।
निखिललाई केहि समय अघि अभिनेत्री रेखा थापाले पनि आफ्नो फिल्मका लागि अफर गरेकी थिइन्। उनीहरुबीच सम्बन्ध राम्रो छैन। तर पनि रेखाले उनलाई आफुले बनाउन लागेको नयाँ फिल्मका लागि अफर गरेकी थिइन्। तर निखिलले आफुले फिल्म बनाउन लागेको र अहिले नखेल्ने भन्दै अस्वीकार गरेका थिए। अब भने उनी आफैले फिल्ममा फर्कन लागेको जानकारी दिएका छन्।