पाल्पा/
समयमै परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ । लामो समयको खडेरीले निरास बनेका यहाँका किसान वैशाख लागेयता खुसी भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसान वर्षा भएपछि उत्साहित भएका हुन्।
“सिँचाइ सुविधा नभएर मकै छर्न पाएका थिएनौँ । वर्षापछि मकै छर्ने तयारी गरेका छौँ”, तिनाउ गाउँपालिका कचलका थर्कबहादुर बगालेले भने । मकै छरिसकेका किसान पनि वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । “खडेरीले मकै खेतमै सुक्न थालेको थियो । यो वर्षाले धेरै राहत पुर्यायो”, माथागढीकी मीना खाम्चाले भनिन्, “सिँचाइ सुविधा नभएको हाम्रोजस्तो ठाउँका लागि वर्षाले सघाएको हो ।”
हिजोआज वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको बगनासकाली गाउँपालिका–२ का रमेश न्यौपानेले बताए । उनले भने “लामो समयको खडेरीपछि पानी परेको छ, अब बारीमा मकै छर्ने तयारी गर्दैछौँ”, सिँचाइका लागि अकासे पानीमा निर्भर रहेका किसानका लागि अहिलेको पानीले खुसी दिएको छ । “बारीमा मकै छर्ने बेला भएको थियो, पानी नपर्दा छर्न पाएका थिएनौँ, ढिलाइ भए पनि छर्न पाउने भयौँ”, पाल्पाको रिब्दीकोट गाउँपालिका सिरुखर्ककी अञ्जु थापाले भनिन् । सुक्खा रहेको खेतबारी वर्षाले चिस्यान भएको छ ।