काठमाडौं :
आगामी जेठ १५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाभोज’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले बुधबार सामाजिक यथार्थ झल्किने टिजर रिलिज भएको हो। टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ।
निर्माण टिमले टिजरमा अभिनेताद्वय खगेन्द्र लामिछानेले र दयाहाङ राईको एक संवाद राखिएको छ। संवादमा भनिएको छ,‘गोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हुन्छ।’
यो संवादले देखाउँछ कि चलचित्र केवल बाह्य हिंसाको चित्रणमा सीमित छैन। सामाजिक अन्याय,आर्थिक असमानता,शक्ति र संरचनाले सिर्जना गर्ने मानसिक तथा जीवन मरणको अवस्था जस्ता सूक्ष्म र गम्भीर विषयहरू उठाउने प्रयासमा छ। सहकारी संस्थाको अध्यक्षको रूपमा रहेका अभिनेता राईलाई कहिले खुसी, कहिले आक्रोशित अवस्थामा देखाइएको छ।
उनी कसैको घरमा खुकुरी लिएर प्रवेश गरेको दृश्य र मोटरसाइकल जलिरहेको दृश्यले कथाको तनावपूर्ण मोड देखाउँछ। अभिनेत्री गौमाया गुरुङ, जो दयाहाङकी पत्नीको भूमिकामा छिन्, पतिको आक्रोश शान्त पार्ने प्रयासमा देखिन्छिन्।
फिल्ममा खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति–पत्नीको रूपमा देखाइएको छ। जसले पैसाको समस्याका कारण पारिवारिक तनाव खेपिरहेका छन्। अभिनेत्री मलिका महत एक रहस्यमय भूमिकामा छिन्, जहाँ उनले प्रहरीसँग आफू निर्दोष भएको बयान दिइरहेकी छन् ।
अभिनेता आर्यन सिग्देललाई गाउँपालिका अध्यक्षको भूमिकामा प्रस्तुत गरिएको छ। जसले राजनीतिक तहसम्म चलचित्रको सन्दर्भलाई विस्तार गरेको देखिन्छ। टिजरको एक दृश्यमा देखिएको ‘सत्य कहिल्यै लुक्दैन’भन्ने वाक्यले फिल्मको निष्कर्षतर्फ सङ्केत गर्छ।
गणतन्त्र दिवसको मौका छोपी बिहीबार नै रिलिज हुन लागेको ‘महाभोज’ को निर्देशन दिनेश राउतले गरेका हुन्। यो फिल्मले नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई कथानकको मूल विषय बनाएको छ। निर्देशक राउतका अनुसार फिल्म पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक र नैतिक दबाबको यथार्थ चित्र हो, जहाँ पात्रहरू आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा छन्।
फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ,मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल,वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय देख्न पाइनेछ। क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता हिमाल कडरिया हुन्। कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। निर्माण पक्षका अनुसार ‘महाभोज’नेपालसँगै नेपालीहरू बसोबास गर्ने अधिकांश देशमा एकैसाथ प्रदर्शनमा ल्याइनेछ।