काठमाडौं :
फिल्म ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ। शुक्रबार (आज)बाट फिल्मले तेस्रो हप्तामा प्रवेश गरेको हो।
फिल्मले तेस्रो हप्तामा प्रवेश गर्दै गर्दा निर्माता संस्था आर्टमाण्डू नेपाल प्रालींले बक्स अफिस रिपोर्टसमेत सार्वजनिक गरेको छ। निमार्ण पक्षका अनुसार फिल्मले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस फिल्मले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै देशभरका हलहरूमा हाउसफुल शो दिँदै आएको छ। प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरिसक्दा पनि फिल्मले १२० भन्दा बढी शो पाइरहेको छ, जुन नयाँ चलचित्रहरू रिलिज भएका परिस्थितिमा पनि उल्लेखनीय मानिएको छ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ।