काठमाडौँ,
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक बन्द हुँदा ६ दिनदेखि सडकमै रोकिएका मालवाहक ट्रकलाई गन्तव्यमा पठाउने काम शुरू भएको छ ।
नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण मालवाहक ट्रक ६ दिनदेखि सडकमै रोकिएका थिए । हिलोले जाममा फसेका सबैजसो गाडी निकालेर गन्तव्यतर्फ पठाइएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।
उहाँका अनुसार हिलोका कारण रोकिएका मालवाहक ट्रकसहित झन्डै १ हजार ८ सय वटा गाडीलाई गन्तव्यमा पठाइएको छ । अहिले दाउन्नेको सडक खाली गराएर ग्राभेल हाल्ने काम भइरहेको छ ।
३ दिनसम्म जङ्गलको बीचमै गर्मी र भोक सहेर बिताएका ट्रक चालकहरू पछिल्लो ३ दिनदेखि बजार क्षेत्रमा रोकिएका थिए । दुम्कीबासको विनयी खोलामा बाढीले डाइभर्सन ८ पटकसम्म बगाएपछि अब नबनाइने भएको छ ।
साना तथा हलुका गाडी होङ्शी सिमेन्ट हुँदै झन्डै २८ किलोमिटर घुमेर दिउँसोको समयमा पार गर्न दिइए पनि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका गाडीलाई पूर्ण प्रतिबन्ध लगाइएको छ ।