सुचना, समाचार र मनोरन्जन

सुरक्षाको ‘कोशेढुङ्गा’लाई लिएर निर्माण पक्ष उत्साहित,नेपालसहित ४० भन्दा धेरै देशमा रिलिज हुँदै

काठमाडौं :

सुरक्षा पन्त अभिनित फिल्म ‘कोशेढुंगा’लाई लिएर निर्मण पक्ष उत्साहित रहेका छन्। निर्माण पक्षले यो फिल्मलाई नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने दाबी गरेका छन्।

आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने यो फिल्मका निर्देशक सरोज पौडेलले यो फिल्म नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन दाबी गरे। उनले भने,‘ यो फिल्म ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुनेछ । अन्य देशमा पनि रिलिजका लागि वितरकहरूसँग कुरा भइरहेको छ। रिलिजको समयसम्म अन्य केही देश पनि थपिनेछन्।’

फिल्मलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ। सेभेन सिजले यो फिल्म सो मितिमा देश तथा विदेशमा एकसाथ प्रदर्शनमा आउने निर्माण कम्पनीले जनाएको छ। डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक ‘कोशेढुंगा’ एकसाथ ४० देशमा आगामी भदौ १२ गते ९अगस्ट १८ मा० एकसाथ ४० देशका हलहरूमा रिलिज गर्न लागिएको अन्तर्राष्ट्रिय वितरक कम्पनी सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले जानकारी दिएका छन् ।

निर्देशक पौडेलको निर्देशन रहेको यो चलचित्र ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । काठमाडौंमा पनि सेट लगाएर यो सिनेमाको छायांकन गरिएको छ । गाउँले सेटअपमा यो सिनेमाले मौलिक कथा पस्किनेछ। यसअघि निर्देशक पौडेलको निर्देशनमा बनेको फिल्म ‘पुर्ण बहादुरको साराङ्गी’ले नेपाली इतिहासमा नै सर्वाधिक बक्स अफिस कलेक्सन गर्न सफल भएको थियो।

पोस्टर रिलिज

केहि दिन अघि यो फिल्मको एक पोस्टर सार्वजनिक गरिएको थियो। पोस्टरमा अभिनेत्री पन्तलाई प्रस्तुत गरिएको गाउँको पृष्ठभूमिमा पछ्यौरी ओढेको ग्रामिण महिलाको चरित्रमा फिचर्ड गरिएको फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा सुरक्षाका साथमा आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ।

फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ। यस फिल्मको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।

Leave A Reply

Your email address will not be published.