काठमाडौं :
फिल्म ‘मिरमिरे’को छायांकन सुरु भएको छ। एक हप्ता वर्कसपपछि निर्माण टिमले फिल्मको छायांकन थालेको हो। निर्माणपक्षले पनौती नगरपालीका ११ बल्थली स्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकनको थालनी गरेको जानकारी दिएको छ।
निर्देशक यम शेर्पाले कुराकानीका क्रममा भने,‘आजबाट सुरु भएको छायांकन हामी करिब ३५ दिन खिच्ने छौँ । सिनेमाको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ।’
यार्सा फिल्म्सको प्रस्तुति रहने यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखुको मुख्य भुमिका रहनेछ। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ,भोलाराज सापकोटा रहेका छन्। फिल्मको बाल(कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।
प्रकाश र दयाहाङको यो पहिलो हिकार्य हो । यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङले काम गरेका थिए। निर्माणपक्षले फिल्मको कथा बारे केही खुलाउन चाहेका छैनन्। ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन्। फिल्मका छायाँकार आलोक शुक्ला हुन्।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन्। यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका फिल्म वितरक रोहित कट्टेल रहेका छन्। सुदिप कुँवरको मुख्य सहायक निर्देशक रहेको फिल्ममा सञ्जु थलाङ लिम्बुको मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।
यसै वर्ष रिलिज हुने फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ ।