काठमाडौं :
अभिनेता पुष्प खड्का तीन वर्षपछि पर्दामा फर्कन लागेको छन्। ‘मनसँग मन’पछि गुमनाम जस्तै बनेका अभिनेता सबिर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६ को आँकडा’मार्फत फिल्ममा फर्कन लागेका हुन्।
एक महिनाअघि निर्माण हुन लागेको फिल्म ‘महाराजधिराज’मा अनुबन्ध भएका पुष्प सोमबारबाट छायांकनमा निस्किने फिल्ममा जोडिएका हुन्। परिचयसँगको कुराकानीमा पुष्पले भने,‘अहिले ३६ आँकडा फिल्मको तयारीमा छु। यसमा म केहि दिनअघि अनुबन्ध भएको हो। सोमबारबाट यो फिल्मको छायांकनमा निस्किदैछौँ।’
यसअघि यो फिल्ममा रेखा थापा,पूजा शर्मा र महेश त्रिपाठीले अभिनय गर्ने पक्का भइसकेको थियो। जसमा पुष्प र पूजाको जोडी दर्शकले देख्न पाउने छन्। केहि म्युजिक भिडियोमा सहकार्य गरेका पुष्प र पूजा पहिलो पटक जोडी भएर फिल्ममा एकसाथ देखिन लागेका हुन् ।
यो फिल्मको शनिबार कृष्ण जन्माष्टमीको अवसर पारेर शुभसाइत गरिन लागेको चर्चा छ।
फिल्ममा रेखा र पूजाले दिदी–बहिनीको भूमिका निभाउने छन् भने यो उनीहरूको दोस्रो सहकार्य हो। दुई वर्षअघि उनीहरूले फिल्म ‘उपहार’मा एकसाथ काम गरेका थिए। रेखा र पूजा मिलेर ‘काली २’निर्माण गर्ने चर्चा थियो। तर उनीहरुले त्यो नाम छाडेर ‘३६ आँकडा’निर्माण गर्न लागेका हुन्। निर्देशक श्रेष्ठको कम्पनी काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको पटकथा तथा संवाद बाबुराम निरौला र शिवम् अधिकारीले लेखेका हुन्। यो फिल्म यसै वर्षको चैत २७ गते प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ।